“राष्ट्र बैंकमा हस्तक्षेप हुँदैन, बैंकको ब्याजदर घट्दै गएको छ ” : अर्थमन्त्री पौडेलले

Machchapuchchre

अर्थ राजनीति  ~  उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताएका छन् । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तीव्रताका लागि आफूहरु लागेको बताए ।उनले महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच भएपनि ब्याजदर र मुद्रास्फितिको सम्बन्ध हुने बताए । अर्थमन्त्री पौडेलले निजी क्षेत्रले वित्तीय क्षेत्रमा पहुँचको माग गरेको भन्दै त्यसमा भएका कमीहरु र समाधानका उपायहरु सरकारलाई दिन आग्रह गरे । राष्ट्र बैंक स्वायत्त कानूनको आधारमा सञ्चालित स्वायत्त संस्था भएकाले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप नगर्ने उनको दावी छ । अर्थमन्त्री पौडेलले लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवर्द्धन गर्ने र यस क्षेत्रका समस्या कसरी समाधान गर्ने भन्ने सार्थक उपाय खोज्नुपर्ने बताए । कुनैपनि नीति बनाउँदा र निर्णय गर्दा सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै निर्णय गर्ने पक्षमा रहेको भन्दै उनले सरकार साना उद्योगका समस्या केलाएर निवारणका लागि लाग्ने प्रतिवद्धता जनाए । उनले एसएमई क्षेत्रमा नीतिगत अस्पष्टता भए ती क्षेत्रहरुको पहिचान गरी मन्त्रालयलाई बुझाउन पनि आग्रह गरे । मन्त्री पौडेलले प्रक्रियागत रुपमा देखिएका झन्झटहरुलाई समेटेर सेवाप्रवाह चुस्त बनाउन, पारदर्शी तुल्याउन सरकारलाई आवश्यक सुझाव दिन पनि निजी क्षेत्रसँग आग्रह गरे । “आकारमा सानो तर योगदानमा ठूलो यो क्षेत्र लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवर्द्धन गर्नसक्छौ” उनले भने, “यो क्षेत्रका समस्या कसरी सम्बोधन गर्नसक्छैं र सबैभन्दा सार्थक उपाय हामी खोज्नसक्छौं ।”निजी क्षेत्रका कतिपय मागहरु सरकारले सम्बोधन गर्ने काम शुरु भइसकेको भन्दै अर्थमन्त्री पौडेलले कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको अवस्थाको गुनासोलाई अब सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले कर बुझाउन जाँदा कर्मचारीले दिएका झन्झट बारे मन्त्रालयलाई जानकारी गराउनसमेत निजी क्षेत्रसँग आग्रह गरे । मन्त्री पौडेलले राज्यका कुनै पनि निकायले नागरिकलाई हैरान बनाउने काम गर्नु नुहने भन्दै दुःख दिएको पाए कारबाहीको दायरामा ल्याउने चेतावनी दिए । आर्थिक क्षेत्रमा देखिएका समस्यालाई सरकार र अर्थमन्त्रालयको मात्र समस्या नठानेर सबैको समस्यका रुपमा लिन पनि उनले निजी क्षेत्रलाई आग्रह गरे । अर्थमन्त्री पौडेलले यसअघि आफू अर्थमन्त्री बनेको बेलामा निजी क्षेत्रको समस्या समाधानका लागि स्टार्टअप कार्य योजना ल्याएपनि आफू हटेको लामो समयसम्म पनि कार्यविधि नबन्नु दुखद् भएको बताए । उनले अब चाँडै नै स्टार्टअप कार्यविधिलाई अघि बढाउने बताए । उनले स्टार्टअप सम्बन्धी यो कार्यविधि छिटै पारित हुने र कार्यान्वयनमा आउने प्रतिवद्धता जनाए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्