देउवासँग संसदीय दलमा भिड्ने गगन थापा कि शेखर कोइराला ?

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न आज उम्मेदवारी दर्ता हुँदैछ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जारी गरेको नयाँ कार्यतालिका अनुसार आज उम्मेदवार बन्न चाहनेहरुले दिउँसो २ बजेदेखि ३ बजेसम्म ५१ हजार रुपैयाँ तिरेर दरखास्त दिन सक्नेछन्। कांग्रेस भित्र प्रधानमन्त्री बन्न धेरैजनाको दाबी रहेको छ। यो अवस्थामा संसदीय दलको नेतामा पनि धेरैजनाको प्रतिस्पर्धा हुन सक्ने देखिएको छ। संस्थापन पक्षबाट संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा लड्ने निश्चत छ। उनलाई टक्कर दिन गगन थापा र शेखर कोइरालाको नाम चर्चामा छन्। देउवालाई संसदीय दलमा टक्कर कसले दिने भन्ने विषयमा छलफल गर्न अहिले संस्थापनइतर समूहको बैठक बसिरहेको छ। लाजिम्पाटस्थित होटल एम्बास्डरमा नेताहरु छलफलमा जुटेका हुन्।बैठकमा गगन थापा र शेखर कोइरालामा कसलाई संसदीय दलको नेताको उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। संस्थापन इतर समूहका नेता जीवन परियारले एक ढिक्का भएर आफूहरु निर्वाचनमा जाने बताए।’१४ औं महाधिवेशनमा हामी एक भएर लड्यौं। १५ औंमा पनि एक ढिक्का भएर जानुपर्छ,’ कांग्रेसका सह महामन्त्रीसमेत रहेका परियारले भने। १४ औं महाधिवेशनमा शेखर सभापतिमा र गगन महामन्त्रीमा एकै प्यानलबाट लडेका थिए। उनले शेखर र गगन दुबै प्रतिस्पर्धामा उत्रनु कांग्रेसका लागि मात्रै हैन देशकै लागि खतरा भएको समेत बताए। अहिले शेखर कोइराला बैठकस्थलमा पुगिसकेका छन् भने गगन थापा पुगेका छैनन्। आज बिहान र हिजो पनि यी दुई नेताबिच संसदीय दलको नेताको विषयलाई लिएर छलफल भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्