राष्ट्र बैंकले चार अर्ब ३१ करोड रकम मुद्दती निक्षेपमा राख्ने

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले चार अर्ब रुपैयाँ भन्दा बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब चार करोड कर्मचारी सुरक्षण कोषको एक अर्ब २७ करोड गरि जम्मा चार अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको जानकारी दिएको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम दामासाहीमा मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४३ करोड २० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ४५ करोड ५६ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १५ करोड २० लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । त्यस्तै, अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको रकम समेत मुद्दती निक्षेपमा लगानी गरिने भएको छ । उक्त कोषमा रहेको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब एक करोड ६० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १९ करोड ५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड ३५ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । यी दुबै कोषको रकम आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन आग्रह गरिएको छ । आवेदन भने यही मंसिर २० गतेदेखि २३ गतेसम्म दिन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्