पूर्वगभर्नर नेपाल : “उद्योगीलाई बैंकमा लगानी गर्न रोक्नुपर्छ “

Machchapuchchre

अर्थ राजनीति  ~  पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा ठूला उद्योगी व्यवसायी मोटाउने र साना तथा मझौला उद्योगी व्यवसायी दुब्लाउने अवस्था आएको भन्दै उनले यसको अन्त्यका लागि उद्योगी व्यवसायीले कुनै एउटा क्षेत्र रोज्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको उद्योगी व्यवसायीसँगको छलफलमा पूर्वगभर्नर नेपालले ब्याजदर घटाउन सरकारले पनि ठोस आर्थिक नीति ल्याउन नसकेको टिप्पणी गरे । ‘पुँजीगत खर्च बढाउन सक्ने हो र बजारमा पैसा आउने हो भने ब्याजदर स्वतः घट्छ, यसका लागि सरकारले उद्योग धन्धामा लगानी बढाउनुपर्छ’, उनले भने । बैंकको स्प्रेड दर घटाउने, आधार दर साढे ७ वा ८ प्रतिशतमा झार्ने र सिडिरेसियो कम गर्ने हो भने बैंकको ब्याजदर घटाउन सकिने नेपालको तर्क छ । अहिले बैंक वित्तीय संस्थाले मुद्दति निक्षेपमा १५ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् भने कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा माथि पुर्याएका छन् । सरकारले आर्थिक सुधारको नीति अवलम्बन गर्नुको साटो केन्द्रीय बैंकसँग निहुँ खोज्ने काम गरेको र केन्द्रीय बैंकले पनि मौद्रिक नीति बनाउँदा अहिलेको अर्थतन्त्रको मूलभूत समस्या सम्बोधन गर्न चुकेको उनको भनाइ छ । कोरोना महामारी तथा रुस–युक्रेन युद्धका कारण मुद्रास्फीतिमा चाप पर्दा अर्थतन्त्रमा समस्या आएको विश्लेषण गर्दै पूर्व गभर्नर नेपालले भने– ‘अब अर्थतन्त्र माथि उकास्नका लागि सरकारले बजारमा पर्याप्त पैसा पठाउनुपर्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्