” समयमा अनुगमन गर्न नसक्दा समस्या आयो ” : शेखर गोल्छा

Machchapuchchre

अर्थ राजनीति  ~  अहिले उद्यमी-व्यवसायी आन्दोलित छन्। बाध्यतावश आन्दोलित हुनुको कारण पीडा हो। एकातिर अर्थतन्त्र-बजारको अवस्था एकदमै नाजुक बन्दै गएको छ। तरलता अभाव, ब्याज दर वृद्धि (खासगरी प्रिमियमका कारण) ले पीडा दिइरहँदा राष्ट्र बैंकले पनि चालु पुँजी कर्जा मार्गदर्शन लागू गरेर व्यवसायीलाई निरास बनाउने काम गरेको छ। यसले -व्यवसायीलाई  थप समस्यामा पारेको छ र सुधारका लागि आन्दोलित हुनु परेको हो।अहिलेको समस्या समाधान गर्न सबै एकै ठाउँमा आउन जरुरी छ। सबै पक्ष परिपक्‍व भएर राष्ट्रलाई सर्वोपरी राखेर आउँदा समाधान नहुने भन्ने अवस्था पनि छैन। त्यसका लागि सरकार, राष्ट्र बैंक, बैंक, निजी क्षेत्रले आ-आफ्नो ठाउँबाट केही योगदान गर्नुपर्छ। जस्तो नेपाल राष्ट्र बैंकले एक पटकका लागि चालु पुँजी कर्जालाई पछाडि सार्नु पर्छ। कतिपय उद्यम-व्यवसाय अहिले संकटमा परेको छ। उनीहरुका लागि ऋण पुनर्संरचनाको सुविधा दिनुपर्छ। बैंक तथा वित्तीय संस्थाहरुले नाफालाई सर्वोपरी नहेरी ऋणीसँग लिइने प्रिमियम घटाउन आवश्यक छ। धितोमा आधारित भएर ऋण लगानी भएकाले बैंकहरुलाई ठूलो समस्या हुँदैन त्यसैले उनीहरुले यसमा लचकता अपनाउन सक्छन्। निजी क्षेत्र पनि परिपक्‍व हुनुपर्छ- सधैं कोभिडकालको जस्तो सुविधा पाइँदैन भनेर बुझ्न पर्छ। अर्गानिक ग्रोथ (वास्तविक, धान्न सकिने) हुने गरी काम गर्नुपर्छ। सरकारले पनि विकास साझेदारहरुबाट प्रतिबद्धता आएको परियोजना अगाडि बढाउनु पर्छ। त्यसो हुँदा विदेशी मुद्राको प्रवाह हुन्छ र त्यसले बाह्‍य क्षेत्रसँगै आन्तरिक तरलताको समस्या पनि सुधार गर्छ।यति भएपछि बजारको मनोबल उच्च हुन्छ र समस्याहरु समाधान भएर जान्छन्। अर्थतन्त्रले पनि गति लिन्छ र उद्यमी व्यवसायीले पनि फैलने मौका पाउँछन्। बाह्‍य क्षेत्रमा पनि स्थायित्व आउँछ। अहिलेको समस्या आउनुमा सबै पक्षको केही न केही गल्ती छ। नेपाल राष्ट्र बैंकले कोभिडपछि पुनर्कर्जाका नाममा अधिक तरलता बजारमा पठायो। यसले अर्थतन्त्र त तङ्ग्रियो तर सही समयमा त्यसलाई रोक्न नसक्दा ठूलो विकृति ल्यायो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्