गुम्यो ओली सरकारको दुई तिहाइ, समर्थन फिर्ता लिने समाजवादी पार्टीको निर्णय

Machchapuchchre

सरकारबाट बाहिरिएसँगै समाजवादी पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार(आज) बसेको दलको केन्द्रीय कार्यकारीणी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

समाजवादी पार्टी नेपालका महासचिव एवं संगठन विभाग प्रमुख गंगा श्रेष्ठले कार्यकारीणी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए । ‘सरकारबाट बाहिरिएपछि समर्थन दिइरहेन कुरा भएन,’महासचिव श्रेष्ठले भने,’समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा प्रतिपक्षीको बेञ्चमा बस्ने निर्णय गरेको छ ।’

समाजवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओली सरकार बहुमतको सरकार मात्र बनेको छ । उसको दुई तिहाइ हटेको छ । केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइको सरकार बनाएको उपप्रधान एवं कानूनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले मंगलबार(हिजो) आकस्मिक रुपमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र सहरी विकासमन्त्री इस्तियाक राईले राजीनामा दिएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकमा कानूनमन्त्रीको हैसियतमा आफूले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्दा प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको र यसअघि सरकारमा सहभागी हुने क्रममा गरिएको दुई बुँदे सहमति भंग भएको यादवले उल्लेख गरेका छन् ।

यसअघि मन्त्रिपरिषद् पुगर्नठन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानून मन्त्रालयमा सरुवा गरेका थिए । त्यसबेला नै प्रधानमन्त्रीले समाजवादी दललाई सरकारबाट हटाउन खोजेको कतिपयको आकलन थियो ।

समाजवादी पार्टीले मन्त्रिपरिषदबाट बाहिरिएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दा पनि नेकपा सरकारले बहुमत गुमाउने अवस्था भने आउँदैन । समाजवादीले समर्थन फिर्ता लिँदा पनि ओली सरकारसँग बहुमत भने कायमै रहनेछ र उसमाथि कुनै गणितीय संकट भने आउने छैन ।

अहिले प्रतिनिधिसभाको कुल सदस्य संख्या २७५ छ । यसमध्ये दुई तिहाई बहुमतका लागि १८३ मत चाहिन्छ । समाजवादी पार्टीले समर्थन फिर्ता नलिँदासम्म ओली सरकारको पक्षमा १९४ सांसद छन् । समाजवादीका १७ जनाले समर्थन फिर्ता लिए भने सरकारको पक्षमा १७७ सांसद रहने छन्, जुन दुई तिहाईभन्दा थोरै मात्र कम हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्