राष्ट्रिय सभा चुनावका लागि अधिकृत तोकिए

Machchapuchchre

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले अधिकृतहरू तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा एक जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतका रूपमा खटाएको हो ।

आयोगका प्रवक्ता गिरिजा शर्माका अनुसार प्रदेश १ मा मोरङका जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेल, प्रदेश २ मा धनुषा जिल्ला अदालतका राजकुमार खतिवडा, प्रदेश ३ मा ललितपुर जिल्ला अदालतका महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्की जिल्ला अदालतका काजीबहादुर राई निर्वाचन अधिकृत तोकिएका छन्।

प्रदेश ५ मा दाङका जिल्ला न्यायाधीश रितेन्द्र थापा, कर्णालीमा सुर्खेत जिल्ला अदालतका राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिममा डोटी जिल्ला अदालतका विदुर काफ्ले निर्वाचन अधिकृतका रूपमा खटाइएका छन्। आयोगले न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतहरू खटाइएको जनाएको छ।

राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट २ वर्षे कार्यकाल पूरा गरेका १९ जना सदस्यको पदावधि सकिँदै छ। त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुने भएकाले बाँकी १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। माघ ९ गते प्रत्येक प्रदेशको उच्च अदालत रहेका स्थानमा मतदान हुने आयोगले जनाएको छ।

प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको डोटीमा मतदान स्थल रहने प्रवक्ता शर्माले बताए। निर्वाचन अधिकृतहरूको तालिम सम्पन्न भएपछि प्रत्येक प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि कार्यालय खोलिने उनले जानकारी दिए। प्रदेशसभा सदस्य तथा स्थानीय तहका नगरप्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष राष्ट्रिय सभा सदस्यका मतदाता हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्