स्थानीय तहको वित्तीय तथ्याङ्क व्यवस्थापन गर्ने सफ्टवेयर ‘सुत्र’ हस्तान्तरण

Machchapuchchre

अर्थ राजनीति  ~  स्थानीय तहको वित्तीय तथ्याङ्क व्यवस्थापन गर्ने ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)’को सम्पूर्ण स्वामित्व नेपालले प्राप्त गरेको छ। बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै बेलायत सरकारले उक्त सफ्टवेयर प्रणाली नेपाललाई हस्तान्तरण गरेको हो । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले महालेखा नियन्त्रक सुमनराज अर्याललाई औपचारिक रूपमा सुत्र हस्तान्तरण गरिन्। सो कार्यक्रममा सुत्रको मोबाइल एप पनि सार्वजनिक गरिएको छ। महालेखा नियन्त्रक कार्यालयले छिट्टै एन्ड्रोइड र एप्पल स्टोरमा उपलब्ध गराइने घोषणा गरेको छ। नेपालका ७५३ ओटै स्थानीय निकायले खर्च व्यवस्थापनका लागि प्रयोग गरिरहेको यो सफ्टवेयर निर्माणको काम सन् २०१७ देखि नै सुरु गरिएको हो। बेलायत सरकारको सहयोग र महालेखा नियन्त्रक कार्यालयको पहलमा यो सफ्टवेयर निर्माण गरिएको हो। सफ्टवेयरमा हाल १३ मोड्युल र सब मोड्युलहरु छन्। स्थानीय तहलाई यसको प्रयोगका लागि सन २०१९ को मन्त्रिपरिषद बैठकले स्विकृत गरेको थियो । सफ्टवेयरमार्फत स्थानीय तहले राजस्व अनुमान गर्ने, बजेट तयार गर्ने, बजेट स्वीकृत गर्ने, विभिन्न स्रोतबाट प्राप्त कोषको विवरण राख्ने, खर्चको लेखा तथा रिपोर्टिङ गर्न सक्छन् । सरकारले सन् २०१९ सबै स्थानीय सरकारमा यो सफ्टवेयर प्रयोग गर्न स्वीकृत दिएको थियो । कार्यक्रममा महालेखा नियन्त्रक अर्यालले सुत्रले स्थानीय वित्तीय प्रणालीलाई पारदर्शी बनाउन सहयोग पुगेको बताए। डिजिटल नेपालको लक्ष्य कार्यान्वयनमा समेत सुत्र प्रणालीको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । नेपालका लागि बेलायती राजदूतले सुत्र प्रणालीले सिर्जना गरेको पारदर्शिताले यसको विश्वसनीयता बढेको बताइन्। अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र सार्वजनिक तथा वित्तीय उत्तरदायित्व सचिवालयमार्फत राय लिएर सफ्टवेयर निर्माण गर्न लगाएको थियो । यसले वित्तीय तथ्यांकको गुणस्तर सुधारमा सहयोग गर्ने बताईएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्