“अर्थतन्त्र सुधारको इन्ट्री पोइन्ट सेयर बजार हो, नत्र अर्थतन्त्र मन्दीमा ” : डा. खतिवडा

Machchapuchchre

अर्थ राजनीति  ~  निजी क्षेत्र, उद्यमी, पुँजी बजारका लगानीकर्ताहरुमा चरम निराशा छ। सामान्यत: सेयर बजारमा केही हदसम्म ‘प्राइस करेक्सन’ भइरहनुपर्छ। तर, सेयर मूल्य ‘ओभर करेक्सन’ भएर गएको छ। ३२ सय अंकबाट २ हजार नजिक सेयर बजार आएको छ। सेयर बजार सूचक ३२ सयबाट २००० को स्तरमा आइरहँदा लगानीकर्ताको मनोबल उच्च दरले गिराएको छ। अहिले सक्रिय कारोबारी १५ लाख हाराहारी छन्। सेयर बजारमा प्रत्यक्ष आबद्ध ५५ लाख हाराहारी पुगिसकेका छन्। सेयर बजारमा लगानी गर्ने भनेका अलिकति वित्त बजारमा जानकारी राख्नेहरु हुन्, सक्रिय र चल्तापुर्जा मान्छेहरु हुन्। ती मान्छेहरु निराश हुनु भनेको फेरि पनि व्यवसायिक वातावरणमा असर पर्नु हो। नीति निर्माणको तहमा जुन खालको असामञ्जस्यता छ, समन्वयको अभाव छ त्यसले जटिलता थपेर लगेको छ। अहिले तीनवटा नियामक तीनतिर फर्किएर बसेका छन्। नियामक निकायका कारण आगामी दिनमा हाम्रा आर्थिक नीतिहरु एउटै बाटोमा हिँड्ने स्थिति बन्दैन कि भन्ने चिन्ता बढेर गएको छ। यसले देश आर्थिक मन्दीतर्फ पो जान्छ कि भन्ने डर लाग्न थालेको छ। निजी क्षेत्रले खोज्ने कुरा साधारण छ। सस्तो ब्याज दरमा पैसा व्यवसायीले पैसा खोज्छन्। लगानीका लागि समान ‘प्लेइङ फिल्ड’ र समान खालको सरकारी व्यवहारको अपेक्षा निजी क्षेत्रको हुन्छ। कतिपय अप्ठेरो परेको ठाउँमा औद्योगिक संरक्षण होस्, सरकारले छिटो निर्णय गरिदिएर सघाइदेओस् भन्ने अपेक्षा उनीहरुको हुन्छ। निजी क्षेत्रसँग कुरा गर्दा अहिले म उनीहरु निक्कै निराश भएको पाउँछु।

अहिले व्यवसायीसँग लगानीका लागि पुँजी छैन। सापटका लागि बैंकमा जाँदा पैसा पाउने अवस्था छैन। पैसा नभएपछि ब्याज दर माथि गइरहेको छ। बैंकले स्वीकृत गरिसकेको कर्जाबापतको पैसा समेत दिन सकेको छैन। करिब करिब २ खर्ब रुपैयाँभन्दा माथिको कर्जाको माग बैंकमा ‘पेन्डिङ’ भएर बसेको छ। यस्तो अवस्थामा ब्याज कसरी तल जाला? ब्याज बढ्दै गएपछि धेरै आकर्षक लगानी पनि सम्भाव्य हुँदैनन्। बैंकमा तरलता अभाव छ, पैसा छैन भन्ने कथा पुरानो भइसकेको छ। बैंकिङ तरलता रेमिटेन्ससँग मात्र जोडिएको विषय हो या ‘ओभर ल्यान्डिङ’ (अति ऋण प्रवाहबाट) भएको हो। ओभर ल्यान्डिङ भएर अहिले ‘कुल डाउन’ को अवस्थामा फर्किएको पो हो कि? थप अनुसन्धानको विषय होला। तर पनि के हो भने ‘इजी मनी’ ले ‘एसेट बबल’ भएको हो। सेयर बजार एउटा बिन्दुबाट छिटोछिटो माथि जाने, रियलस्टेटको मूल्य छोटो समयमा माथि जाने, मान्छेको उपभोग ह्वात्त-ह्वात्त बढ्ने र यसले आयात बढाउने कुराको शृंखला ‘इजी मनी’ सँग जोडिन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्