७ जेठमा नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम ७ जेठ संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । ‘जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गर्ने कार्यक्रम रहेको छ,’ पाण्डेले भने, ‘त्यसको संशोधन र छलफल ८, ९, १० र ११ गते निर्धारण हुने देखिन्छ ।’ सवैधानिक व्यवस्थाअनुसार १५ जेठमा बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन ३ जेठलाई आह्वान गरेकी हुन् । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ जेठदेखि ११ गतेसम्म हुने पाण्डेले बताए । बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्डलगायतका भौतिक तयारी पूरा गरेको प्रवक्ता पाण्डेले जानकारी दिए । ३ जेठमा प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको पाण्डेले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्