सुरक्षा मुद्रणको जिम्मा फ्रान्सेली कम्पनीलाई यति होल्डिङ्स स्थानीय एजेन्ट

Machchapuchchre

काठमाडौँ । सरकारले नेपालको ‘सुरक्षा मुद्रण प्रेस’ स्थापना गर्ने जिम्मा फ्रान्सेली कम्पनी ‘इम्प्रिमेरी नेसनले’ लाई दिने प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा ‘गभर्मेन्ट टु गभर्मेन्ट’ (जी टु जी) प्रक्रियाअन्तर्गत फ्रान्सेली कम्पनीलाई दिनेबारे सैद्धान्तिक सहमति भएको छ । यो कम्पनीको स्थानीय एजेन्टका रूपमा नेपालको ‘यति होल्डिङ्स’ संलग्न छ ।

सत्तारूढ दलका नेताहरूसँग यति होल्डिङ्सका व्यक्तिहरूको उठबस र त्यसको प्रभावका आधारमा सरकारी स्रोतहरूमा पहुँच विस्तार गरेका विवादास्पद विषयहरू सार्वजनिक भइरहेका बेला मन्त्रिपरिषद्बाट पुनः त्यही समूहसँग जोडिने विदेशी कम्पनीलाई प्रेस स्थापनाको जिम्मा दिने तयारी भएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यो विषय छलफलमा आएको तर निर्णय नभएको दाबी गरे । ‘जर्मन र फ्रेन्च कम्पनीबाट आएका दुई प्रस्ताव तुलनात्मक हैसियतमा पेस भएका हुन्, यसमा छलफलसम्म भएको हो,’ बाँस्कोटाले कान्तिपुरसँग भने, ‘तर निर्णय भएको छैन ।’

मन्त्रिपरिषद् स्रोतका अनुसार फ्रान्स र जर्मनका दुई कम्पनीको नाम पेस भए पनि फ्रान्सको कम्पनी सरकारको छनोटमा परेको छ । त्यसैले औपचारिकताका लागि मात्र दुई कम्पनी देखाउने गरी मन्त्रिपरिषद्मा छलफल गरिएको हो । ‘तत्काल आवश्यक परेको छ, त्यसैले यो प्रेस स्थापना गरिहाल्नुपर्छ भन्ने कुरा बैठकमा प्रधानमन्त्रीबाटै उठेको थियो,’ स्रोतले भन्यो । मन्त्री बाँस्कोटाले कम्पनीहरूको प्रस्ताव आएको कुरा पेस गरेपछि तुलनात्मक रूपमा ठीकलाई जिम्मा दिने सैद्धान्तिक सहमतिअनुसार फ्रान्सेली कम्पनी छनोटमा पारिएको हो । अब यो कम्पनीबाट काम अघि बढाउनका लागि अरू प्रक्रिया मन्त्रीस्तरबाट अघि बढ्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्