नेप्सेको सीईओमा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषदको माघ १७ को बैठकले कार्कीलाई नेप्से सीईओको जिम्मेवारी दिएको हो। सार्वजनिक प्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका कार्की पुँजीबजारबारे राम्रो दख्खल राख्ने बताइन्छ। निजामती सेवामा उपसचिव रहिसकेका उनी यसअघि बुढीगण्डकी जलविद्युत आयोजनामा परियोजना संयोजक थिए। पदीय मर्यादाविपरित सर्वोत्तम सिमेन्टको सेयरको आन्तरिक कारोबारमा विवादित भएपछि चन्द्रसिंह साउदले गत भदौ ८ गते नेप्सेको सीईओबाट राजीनामा दिएका थिए।  त्यसयता रिक्त रहेको नेप्से सीईओ पदको प्रतिस्पर्धामा तीनजना थिए। जसमा कार्कीसहित डा. केशव श्रेष्ठ र रमेश भण्डारी सीईओको दौडमा थिए। भण्डारी र श्रेष्ठलाई पाखा लाएर कार्की नेप्सेको सीईओ बन्न सफल भएका हुन्। साउदले राजीनामा दिएपछि गत कात्तिकमा अर्थमन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा अर्थ मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्व अध्यक्ष जीवनाथ धिताल सदस्यसहितको नेप्सेको सीईओ छनोटका लागि सिफारिस समिति गठन भएको थियो। समितिले कात्तिक दोस्रो साता नेप्सेको सीईओका लागि १५ दिनको अवधि राखेर आवेदन आह्वान गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्