नेकपाको स्थायी समिति बैठक आज पनि जारी रहने

Machchapuchchre

काठमाडौँ । मंसिर २९ र ३० गरी दुई दिनमै सक्ने भनिएको नेकपाको स्थायी समिति बैठक अझै जारी छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले आफ्ना प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सम्भवत: बैठक शनिबार सकिनेछ ।

दुवै अध्यक्षका तर्फबाट कार्यकारी भूमिकामा रहेका अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथिको छलफलमा बैठक केन्द्रित छ ।

पार्टी सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि ‘राजनीतिक प्रतिवेदन, विधान संसोधन, नेपाल–भारत सीमा समस्या, केन्द्रीय समितिको बैठक र विविध’ गरी पाँच एजेन्डा तय गरेको थियो ।

सुरुमा एकजना सदस्यलाई आफ्ना धारणा राख्न दश मिनेटको समय दिई बैठक संचालन गर्ने अध्यक्ष दाहाल र महासचिव पौडेलको योजना थियो । एक बर्षपछि बसेको बैठकमा दस मिनेटमा आफ्ना धारणा राख्न नसकिने भन्दै सदस्यहरुले समय बढाउन माग गरेपछि बोल्नका लागि बीस मिनेटको समय दिइएको हो । महासचिव पौडेलले सदस्यले २० मिनेट बोलेपछि समय सकिएको सूचनाका रुपमा घण्टी बजाउने गरेका छन् ।

तर, २० मिनेटको सयम पनि सबैकुरा राख्नका लागि थोरै भएको महसुस गरेका कतिपय नेताहरुले भने आफ्नो मत लिखित रुपमै राखेका छन् । आफ्नो मत जस्ताको त्यस्तै पार्टी केन्द्रीय कार्यालयमा रेकर्डमा बसोस् भनेर नेताहरुले लिखित मत राखेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्