संसद्‌मा नयाँ नजिर, उपसभामुखबाट अध्यक्षता

Machchapuchchre

काठमाडौँ । सभामुख नभएकाले प्रतिनिधिसभा बैठक प्रारम्भ कसले गर्ने भन्ने केही दिनयताको बहसलाई चिर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले शुक्रबार बैठक चलाएकी छन् । सांसदहरू आफैंले बनाएको नियमावलीविपरीत संवैधानिक प्रावधानलाई आधार मानेर तुम्बाहाङ्फेको अध्यक्षतामा संसद्को पाँचौं अधिवेशनको बैठक प्रारम्भ भएको हो ।

प्रतिनिधिसभा नियमावलीमा सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगन घोषणा गर्ने व्यवस्था छ । संसद्का पूर्वमहासचिव सूर्यकिरण गुरुङले संसदीय अभ्यासमा उपसभामुखले बैठक प्रारम्भ गरेको यो पहिलो पटक भएको बताए । उनी ०४९ देखि ०६४ सम्म संसद्मा कार्यरत थिए । ‘०४८ सालयताको संसदीय अभ्यासमा मैले सम्झेसम्म संसद् अधिवेशनको प्रारम्भ र अन्त्य सभामुखबाटै हुँदै आएको थियो । संसदीय अभ्यासमा प्रचलनको पनि महत्त्व हुन्छ । त्यो एउटा नजिर पनि हो,’ उनले भने, ‘अहिले सभामुख नभएको र उपसभामुख रहेको फरक स्थिति देखिन्छ । उपसभामुख हुँदाहुँदै ज्येष्ठ सदस्य खोज्ने कुरा पनि भएन ।’

तत्कालीन सभामुख कृष्णबहादुर महरा फौजदारी अभियोगमा थुनामा छन् । यौन दुर्व्यवहार आरोप लागेलगत्तै असोज १४ मा उनले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । प्रतिनिधिसभा नियमावलीमा सभामुखलाई एकाधिकार दिइएको छ । राष्ट्रिय सभा नियमावलीमा संशोधन गरेर अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले पनि बैठकको प्रारम्भ वा स्थगन गर्न सक्ने व्यवस्था राखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्