ओम्रीकान भेरियन्ट डेल्टा, गामा, बेटा र अल्फाजस्तै ‘भेरियन्ट अफ कन्सर्न’

Machchapuchchre
अर्थ राजनीति  ~  विश्वभर महामारी बनेर फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट हो, ओम्रीकान । अरु भेरियन्टका तुलनामा छिटो संक्रमण फैलिने भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसबाट सुरक्षित हुन र सावधानी अपनाउन आह्वान गरिसकेको छ । कोरोनाको यो भेरियन्ट फैलिन नदिन विभिन्न राष्ट्रले आपतकालीन रूपमा यात्रा प्रतिबन्ध लगाइसकेका छन् । भ्याक्सिन निर्माता कम्पनी आफ्नो उत्पादनलाई अपडेट गर्ने तयारी गरिसकेका छन् । डब्लुएचओले यो भाइरसको भेरियन्टलाई ‘भेरिअन्ट अफ कन्सर्न’, ‘भेरिअन्ट अन्डर मनिटरिङ’ तथा ‘भेरिअन्ट अफ इन्ट्रेस्ट’का रूपमा व्याख्या गरेको छ । हालसम्म देखिएकामध्ये पाँच कोरोना भाइरसलाई ‘भाइरस अफ कन्सर्न’को रूपमा विश्व स्वास्थ्य सङ्गठनले लिएको छ । यसमा अल्फा, बिटा, गामा, डेल्टा र ओम्रीकान रहेका छन् । ओम्रीकान भेरियन्ट पहिलोपटक गत ९  नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । यसको सङ्क्रमण छिटो फैलिएपछि डब्लुएचओले चासोका साथ हेरेको थियो । “यो नयाँ भेरिअन्ट (बी १.१.५२९) एकदमै छिटो फैलिएको पाइएको छ,”  साउथ अफ्रिका सेन्टर फर इपिडेमिक रेस्पोन्स एन्ड इनोभेसन तथा स्टेलेनबोस्ककी जेनेटिक  रिसर्चर टीयलो डी ओलीभीयराले ट्विटर मार्फत बताइन् । यसको जिन परीक्षण गर्दा स्पाइक प्रोटिनमा धेरै म्युटेसन भएको पाइएको अनुसन्धानले देखाएको छ । यसअघि अन्य भेरियन्टमा पनि देखिएको केही म्युटेसन यसमा पनि  पाइएको छ । इ४८४के नाम दिइएको एक म्युटेसनका कारण भाइरसले एन्टीबडीसँग कम प्रतिक्रिया देखाउने अनुमान गरिएको छ । साथै हालै गरिएको एक अध्ययनमा यो म्युटेसनले इम्युन सिस्टमको प्रोटिनलाई कमजोर गराउने गरेको पनि पाइएको थियो । यो म्युटेसनले मोनोकनल एन्टीबडीलाई कम प्रभावकारी बनाउने गरेको छ ।ओम्रीकानमा नै एन५०१वाई नामको अर्को म्युटेसन पनि देखिएको छ । युनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्च एन्ड कलेजका स्कट वेभरले आफ्नो जर्नलमा जनाए अनुसार अल्फा र गामामा समेत भेटिएको यो म्युटेसनले भाइरसलाई सङ्क्रामक बनाएको छ । यो म्युटेसनसँगै भाइरस घाँटी र नाकको माथिल्लो भागसम्म रहने भएकाले हाछ्यु गर्दा, खोक्दा र या बोल्दा सजिलै अन्य व्यक्तिमा सर्ने  सम्भावना प्रबल बनेको छ । डेल्टाले जस्तै ओम्रीकानले पनि डी ६१४ जी नामको अर्को म्युटेसन लिएको हुन्छ । यसका कारण यो कोषहरूमा टाँसिएर बस्छ । ब्रिटिस मेडिकल एसोसिएसनको सामुदायिक स्वास्थ्य मेडिकल कमिटीका पूर्व प्रमुख डा. पिटर इङ्ग्लिस आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । उनका अनुसार धेरै म्युटेसन भएकै कारण धेरै समस्या गर्छ भन्ने होइन । यसका बाबजुद उनी पनि यो म्युटेसनले इम्युन सिस्टममा कस्तो प्रभाव पार्छ भन्नेलाई चासोपूर्वक हेर्नुपर्ने बताउँछन् । अहिले धेरै वैज्ञानिकको चासो स्पाइक प्रोटिनमा भएको म्युटेसनमा हो । धेरै भ्याक्सिन स्पाइक प्रोटिनमा केन्द्रित भएर बनाइएका छन् । फाइजर एन्ड बायोटेक, मोर्डना, जोन्सन एन्ड जोन्सन र अस्ट्रेजेनकाका साथै धेरै भ्याक्सिन स्पाइक प्रोटिनमा आधारित भएर बनाइएका भ्याक्सिन हुन् । यी सबै भ्याक्सिन भाइरसको जिनको एउटा टुक्रामा आधारित भएर तयार पारिएका हुन्छन् । यिनमा स्पाइक प्रोटिनकै टुक्रा प्रयोग गरिएका छन् । यसकारण यो म्युटेसनले इम्युन सिस्टमको प्रोटिन तथा भ्याक्सिनले बनाएको सेललाई निष्प्रभावी बनाउन सक्ने सम्भावना बढेको छ । यद्यपि सम्भावना देखिएपनि प्रमाण भने भेटिएको छैन । अन्य भेरियन्टबाट भन्दा यसबाट धेरै नै अवस्था भयावह हुन्छ या हुँदैन भन्नेमा अनुसन्धाताको चासो बढेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्