प्रचण्ड : ” म प्रधानमन्त्री भन्दा कम छैन “

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्री भन्दा कम नभएको बताएका छन् । कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा प्रचण्डले बुधबार सो अभिव्यक्ति दिएका हुन् । कार्यक्रममा प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताउँदै प्रचण्डले यसपटक भने त्यसो नहुने बताए । प्रचण्डले भने, ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्या छ ।’ उनले अगाडि भने, ‘मैले त एउटा सपना देखेको थिएँ, कम्युनिष्टलाई एक गरेपछि देशमा स्थायीत्व होला, छिटोछिटो विकास होला, सामाजिक न्याय होला भनेर केपी ओलीलाई मैले नै दुईचोटी प्रधानमन्त्री बनाएँ । तर ती नायक होइन, खलनायक परेछन् । ‘ओली नेतृत्वको अघिल्लो सरकारलाई प्रचण्डले ‘झुटो बोल्न सिपालु सरकार’ भनेर टिप्पणी गरे । तर अहिलेको सरकारलाई त्यसो हुन नदिने उनले बताए ।  भूमि व्यवस्था मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि महोत्तरीमा लालपूर्जा वितरणको प्रक्रिया सुरु भएको भन्दै प्रचण्डले अन्य प्रदेशमा पनि त्यस्तै कामको थालनी गर्ने आश्वासन दिए । ‘भर्खरै भूमि व्यवस्था मन्त्रालय हाम्रो बनेपछि महोत्तरी जिल्लामा लालपूर्जा वितरणको प्रक्रिया सुरु गरिएको छ । अब पश्चिम, मध्य, पूर्व सबैतिर एकैसाथ लालपूर्जा वितरण गर्न सकिने छ,’ प्रचण्डले भने । उनले कैलाली जिल्लाको विकासका लागि पनि आफूले पहल गर्ने आश्वासन दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्