कांग्रेसले भागबन्डामा टुंग्यायो, मन्त्रालय टुंग्याउन बाँकी

Machchapuchchre

अर्थ राजनीति  ~  सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भागबन्डाका आधारमा टुंगो लगाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा मन्त्री बन्नेको टुंगो लागेको हो । कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री र एउटा राज्यमन्त्री पाएको छ । अहिले कांग्रेसबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा.नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् । अब कांग्रेसबाट तीन मन्त्री बन्ने छन् । जसअनुसार पौडेल समूहबाट दुई र सिटौला समूहबाट एकजना मन्त्री बन्दैछन् । कांग्रेस स्रोतका अनुसार रामचन्द्र पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू र डा.मिनेन्द्र रिजाल मन्त्री बन्ने भएका छन् । रिजाललाई महामन्त्री डा.शशांक कोइरालाको पनि समर्थन छ । कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एकजना मन्त्री बन्ने भएका छन् । तर, सिटौलाले प्रधानमन्त्री देउवालाई नाम बुझाएका छैनन् । प्रधान यसअघि पनि मन्त्री भइसकेकाले चौधरी नै मन्त्री बन्ने लगभग तय भएको कांग्रेस नेताहरू बताउँछन् । तर, कांग्रेसबाट मन्त्री बन्नेहरूको मन्त्रालय भने टुंगो लागिसकेको छैन । गठबन्धनमा आबद्ध दलहरूसँगको छलफलपछि मात्रै मन्त्रालयको टुंगो लाग्ने भएको छ । देउवा पक्षमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई राख्ने कि नराख्ने भन्ने अझै निर्णय भइसकेको छैन । यदि श्रेष्ठको बढुवा नभए र राज्यमन्त्री राख्नुपरेमा पुष्पा भुसाललाई अवसर दिइने भएको छ । राज्यमन्त्री श्रेष्ठले भने आफ्नो कामको मूल्यांकन गर्दै मन्त्रीमा बढुवा हुनुपर्ने चाहना राखेका छन् । देउवा पक्षबाट यसअघि कार्की, खड्का र खाँण मन्त्री बनिसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्