संविधान दिवसमा लोसपाले विरोध गर्ने तयारी

Machchapuchchre

अर्थ राजनीति  ~  संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ । संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै नवगठित लोसपा नेपालले संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउने भएको हो । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जनता समाजवादी पार्टी बनेपछि संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउने कि नमनाउने भन्नेबारे विवाद देखिएको थियो । गत वर्ष संविधान दिवस कसरी मनाउने भन्नेबारे जसपाभित्र विवाद बढेको थियो । त्यतिबेला जसपाको एउटा पक्ष मौन रह्यो भने अर्को पक्षले सडकमा उत्रिएर संविधान दिवसलाई ‘कालो दिन’ का रुपमा मनाएका थिए । जसपा नेपाल विभाजित भएर लोसपा बनेपछि भने यो पटक जसपाले संविधान दिवसमा मौन रहने र लोसपाले विरोधका कार्यक्रम गर्ने तयारी गरेका हुन् । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको अवसर पारेर प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । मधेसको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेस केन्द्रित दलले यो दिनलाई ‘कालो दिन’का रुपमा मनाउँदै आएका छन् ।

तत्कालीन मधेसवादी दलको विरोधका बाबजुद संविधान जारी भएको थियो । संविधान जारी गर्दा उनीहरु संविधानसभामा सहभागी समेत भएनन् । उनीहरूको सहभागिता बिना नै संविधानसभाको बहुमतले संविधान जारी गरिएको थियो । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस (३ असोज)लाई कालो दिनका रुपमा मनाउन मातहतका कमिटीमा सर्कुलर जारी गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधबार जारी गरेको आन्तरिक सर्कुलरमा जिल्लाका संयोजकहरूलाई संविधान दिवसको दिन विरोधसभा, कोणसभा, जुलुस, ब्ल्याक आउट लगायत विरोधका कार्यक्रम गर्न निर्देशन दिइएको छ । अध्यक्ष ठाकुरको सर्कुलरअनुसार नै विरोधका कार्यक्रम हुने लोसपाका नेता एवं प्रदेशसभा सदस्य परमेश्वर साहले जानकारी दिए । सरकारमा रहँदासमेत संविधान जारी भएको दिनलाई कालो दिनको रुपमै मनाएको बताउँदै उनले संविधान संशोधन लगायतका मुद्दा सम्बोधन नभएसम्म संविधान दिवसलाई आफूहरुले कालो दिनकै रुपमा मनाउने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्