राष्ट्र बैंक २० अर्बको रिपो जारी गर्दै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता सङ्कट समाधानका लागि बैंकहरुलाई २० अर्ब रुपैयाँ बराबरको ७ दिने रिपो जारी गरेको छ । कर्जा प्रवाहको तुलनामा निक्षेप सङ्कलन बढ्न नसकेपछि तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज बढाउने सङ्केत गरेपछि राष्ट्र बैंकले रिपो जारी गरेर ब्याजदर समेत नियन्त्रण गर्न खोजेको हो । अब बैंकहरुले रिपोमार्फत पैसा लिने ब्याजदरको बोल कबोलमार्फत आवेदन दिन सक्ने सक्नेछन् । राष्ट्र बैंकले बैंकहरुलाई रिपोमार्फत तरलता पठाउँदा ५ प्रतिशतलाई न्यूनतम आधार बिन्दु मानेर त्यो भन्दा माथि ब्याज कबोल गर्ने बैंकहरुलाई रकम उपलब्ध गराउँछ । बैंकिङ्ग प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने साधन रिपो हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकाले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ । रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नुअघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्