सर्वोत्तम सिमेन्टको सेयर प्रकरण: अध्यक्ष ढुंगाना निलम्बित

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले सर्वोत्तम सिमेन्टको सेयर खरिदमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गर्दै न्यायिक छानबिन समिति गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। मन्त्रिपरिषद्ले छानबिन प्रक्रिया प्रभावित हुनसक्ने वा प्रमाण नष्ट हुनसक्ने कारण देखाउँदै बोर्ड अध्यक्ष ढुंगानालाई निलम्बनको निर्णय गरेको हो। उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित समितिमा नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल सदस्य छन्। बुक बिल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर ढुंगानाले आफ्नै छोरीका नाममा लिएका थिए। अमेरिका बस्ने छोरी रेविका ढुंगानाका नाममा सेयर लिएको सार्वजनिक भएपछि अर्थमन्त्रालयले संस्थागत रुपमा धितोपत्र बोर्डका नाममा स्पष्टीकरण सोधेको थियो। व्यक्तिले सेयर लिएर प्रकरणमा संस्थागत स्पष्टीकरण सोधेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको समेत आलोचना भएको थियो। यो आलोचनापछि मन्त्रालयले समेत छानबिन समिति बनाएको थियो। यही प्रकरणमा नेपाल स्टक एक्सचेन्ज(नेप्से)का सीइओले राजीनामा दिएका थिए। तर ढुंगाना भने पद बचाउन शक्ति केन्द्र धाएका थिए। स्रोतका अनुसार अब ढुंगानाको सर्वोत्तम सेयर खरिद प्रक्रियामा अनुसन्धान हुनेछ। उनी दोषी देखिएमा कारबाही पनि हुनेछ। ‘सरकारले न्यायिक समिति गठन गर्नुको सोझो अर्थ हो, उनी दोषी भेटिए कानुन अनुसार कारबाही हुन्छ,’ अर्थमन्त्रालयका एक अधिकारीले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्