कन्चनपुर: कोरोनाको तेस्रो लहर रोकथामका लागि पूर्वतयारी

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोनाको तेस्रो लहर रोकथामका लागि कन्चनपुरमा  पूर्वतयारी थालिएको छ । मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभर मास्क लगाउन र स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउनका लागि अभियान सञ्चालन गरिएको हो । “सीमा नाका भएर आउने व्यक्तिलाई हेल्थ डेस्कमा लगी जाँच गरेर मात्रै पठाउने गरेका छौँ”, उनले भने, “स्थानीय तह र अन्य सङ्घसंस्थासँगको समन्वयमा एम्बुलेन्सको व्यवस्थासमेत गरिएको छ ।” त्रिनगर र गड्डाचौकी सीमा नाकामा एक/एक हजार अट्ने होल्डिङ सेन्टर केही दिनभित्रै पूरा हुने तयारीमा रहेको उनको भनाइ थियो । “महाकाली अस्पतालमा बालबालिकालाई लक्षित ५० श्यया थप्न लागिएको छ, यो दुई महिनाभित्र तयार हुन्छ”, प्रजिअ पाण्डेयले भने, “अस्पतालमै अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया शुरु भइसकेको छ ।”  जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने कार्य जारी छ । हालसम्म खोपको दोस्रो मात्रा लगाउने ७४ हजार छन् ।जिल्लामा सक्रिय सङ्क्रमित १२५ छन् । सङ्क्रमण देखिएका मध्ये १२२ होम आइसोलेशन र तीनको आइसोलेशनमा उपचार भइरहेको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लामा प्रहरी र स्थानीय तहका समन्वयमा कोरोना रोकथामका लागि नेपाल मास्क अभियान सञ्चालन गरिएको छ ।कोभिड– १९ सङ्क्रमणबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी तोकिएको स्वास्थ्य मापदण्डको पूर्णपालना नगरी मास्क नलगाई हिँडडुल गर्ने सर्वसाधारण, सवारी चालक, सहचालक र यात्रुलाई सतर्क पार्न थालिएको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार आइतबार मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गरी लापरवाही गर्ने व्यापारी र उपभोक्ता गरी ५६ जनालाई कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही गरी सचेत गराइएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्