शेरबहादुर देउवा सरकार: मन्त्रिपरिषद् विस्तारमा किन ढिलाई ?

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको आज ठिक एक महिना पूरा भयो तर उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। उनले मन्त्रिपरिषद्को बीस प्रतिशत क्षमतामा काम गरिरहेका छन्। विपक्षी दलले मात्र नभै कांग्रेस नेताहरूले समेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा संसद्‌मै सरकारको आलोचना गरेका छन्। शुक्रवार आफ्नो पाँचौँ कार्यकालको पहिलो महिना पूरा गरेका देउवाले आफ्नो शपथसँगै चार मन्त्री नियुक्त गरेका थिए। महामारीको बेला स्वास्थ्यमन्त्री चयन नगरेको भनेर सर्वत्र आलोचना भएपछि साउन ११ गते स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्त गरे बाहेक बाँकी मन्त्रीहरूको टुङ्गो लाग्न सकेको छैन। कांग्रेस नेताहरूका अनुसार पार्टीको जारी केन्द्रीय समितिको बैठकपश्चात् मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफलहरू अघि बढ्नेछन्। भागबण्डा, आकाङ्क्षी व्यवस्थापन र गठबन्धन सहयात्री दलका आन्तरिक किचलो नै  मन्त्रिपरिषद् विस्तार ढिलो हुनुका तीन प्रमुख कारण रहेको नेताहरूले बताएका छन्। मन्त्रिपरिषद् पूर्णताका लागि प्रधानमन्त्री समक्ष गठबन्धन दलहरूबीच आकर्षक मानिने मन्त्रालय र मन्त्रीको सङ्ख्यामा भागबन्डा मिलाउन देखिएको बताइएको छ। २५ सदस्यीय मन्त्रिपरिषद्‌मा हाल कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री छन् भने प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका दुई मन्त्री छन्। प्रमुख तीन सत्ता साझेदार दलहरूबीच कसले कति मन्त्रालय पाउने विषय नै टुङ्गोमा पुग्न बाँकी रहेको गठबन्धनका नेताहरूको भनाइ छ। माओवादी केन्द्रले सरकारमा आफूहरूले पाउनुपर्ने हिस्साको टुङ्गो लाग्नै बाँकी रहेको बताएको छ। “पहिले त उपेन्द्र यादव र माधव कमरेडले समय मागेका कारण समय लागेको हो। त्यसपछि माधव कमरेडलेले समय मागेजस्तो पनि लाग्दैन, थाहै छैन,” ढिलाइको कारणबारे माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। “हामीले थाहा पाएसम्म कसले कति पाउने भन्ने पनि टुङ्गिएको छैन।”सरकारमा एक जना पनि मन्त्री नपठाएको गठबन्धनको जनता समाजवादी पार्टीले भागबन्डा मिल्ने बित्तिकै मन्त्रीहरू पठाउने बताएको छ।

तीन वर्ष प्रतिपक्षमा बसेर सरकारमा पुगेको कांग्रेसभित्र मन्त्रीका आकाङ्क्षी व्यवस्थापन चुनौतीपूर्ण रहेको नेताहरूको भनाइ छ। पार्टीको आसन्न महाधिवेशनमा बन्न सक्ने विभिन्न समूह र पदाधिकारीका आकाङ्क्षी समेत व्यवस्थापन हुने गरी मन्त्री चयन गर्ने योजनामा प्रधानमन्त्री देउवा रहेको उनी निकट नेताहरू बताउँछन्। कांग्रेस नेता मीन बहादुर विश्वकर्माले नेपाली कांग्रेसको आन्तरिक छलफलमा केही समय लाग्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन समय लाग्ने बताए। आगामी महाधिवेशनमा पुन: सभापति बन्ने अवस्थामा आफूलाई पार्टीभित्र सहयोग पुग्ने गरी मन्त्रीहरू चयन गर्ने गृहकार्यमा देउवा र त्यसलाई रोक्ने पक्षमा पार्टीभित्र उनको प्रतिस्पर्धी समूह लागेको बताइन्छ। अघिल्लो सरकारमा समेत सहभागी भएको माओवादीभित्र मन्त्री चयनमा खासै समस्या नरहेको पार्टीका नेताहरूको दाबी छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्