माथिल्लो तामाकोसीका चार वटा युनिटबाट विद्युत् उत्पादन सुरु

Machchapuchchre

अर्थ राजनीति  ~  माथिल्लो तामाकोसीका चार वटा युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ । योसँगै तामाकोसीको ३ सय ४ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तामाकोसीको उत्पादन जोडिएसँगै प्राधिकरणको जडित क्षमता १७५० मेगावाट पुगेको जानकारी दिनुभयो । माथिल्लो तामाकोसीको ४५६ मेगावाटनै प्रणालीमा जोडिदा १९०० मेगावाट जडित क्षमता पुग्ने छ । जडित क्षमता भन्दा २०० मेगावाट बढी विद्युत् अहिले पनि खेर जाने अवस्था देखिन्छ । तर १०० मेगावाट बराबरका कुलेखानी जलाशयका परियोजना आवश्यकता अनुसार मात्रै चलाउने हुँदा जडित क्षमतामा जोडिए पनि दैनिक खपतमा यसलाई अन्य आयोजना सरह जोड्न नमिल्ने भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराइले बताउनुभयो । माथिल्लो त्रिशुली ३ ए को एउटा युनिटको ३० मेगावाट र चमेलियाको एउटा युनिटको १५ मेगावाट गरी ४५ मेगावाट विद्युत् अहिले मर्मतका लागि उत्पादन बन्द छ । मादी करिडोरमा ५० मेगावाटका आयोजना पनि मर्मतका लागि बन्द रहेकोले अहिले अधिकतम उत्पादन र खपत बराबरको अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । २४ घण्टा एक नासले विद्युत् खपत हुँदैन । सबै आयोजनाले २४ घण्टा एकैनासले विद्युत् उत्पादन पनि गर्दैनन् । अहिले खेर जाने विद्युत् भनेको रातको समयमा मात्रै हो । उक्त समयमा प्राधिकरणले आफ्ना आयोजना बन्द गरेर निजी क्षेत्रको विद्युत् भने निरन्तर किनिरहेको हुन्छ । हाल निजी क्षेत्रबाट अधिकतम ८६२ मेगावाट विद्युत् उत्पादन भइ दुई करोड युनिट उर्जा आपूर्ति भएको छ । प्राधिकरणका आयोजनाबाट ४८४ मेगावाट विद्युत् उत्पादन भएर ९३ लाख ६३ हजार युनिट ऊर्जा आपूर्ति भएको छ । त्यस्तै भारतबाट १६२ मेगावाट विद्युत् आयात हुँदा सात लाख ५१ हजार युनिट ऊर्जा आयात भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्