राष्ट्र बैंकको प्रोभिजनिङमा कडाइ: एकैपटक नाफामा १५ अर्ब रुपैयाँको गिरावट

Machchapuchchre

अर्थ राजनीति  ~  लकडाउन र निषेधाज्ञाका बेला उद्यमी व्यवसायीहरुलाई सहयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ‘सजाय’ दिएको छ। राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै पोहोर उद्यमी व्यवसायीलाई सहयोग गर्नका लागि दिइएको ऋणमा थप प्रोभिजनिङको व्यवस्था गरेको छ। यो नीतिका कारण पोहोर सहयोग नगर्ने बैंकहरुलाई फाइदा भएको छ। राष्ट्र बैंकले पोहोर यस्तो ऋणमा एक प्रतिशत मात्र प्रोभिजनिङ गरे पुग्ने व्यवस्था गरेको थियो। यसपाली त्यसलाई बढाएर ५ प्रतिशत पुर्‍याइदिएको छ। ‘कोभिड-१९ महामारीको समयमा पुनरुत्थानको लागि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएका थप कर्जा निर्धारित अवधिमा भुक्तानी हुन नसकेको अवस्थामा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी त्यो कर्जा भुक्तानीको अवधि बढीमा एक वर्षसम्म थप गर्न सकिने’ व्यवस्था गरेको छ। राष्ट्र बैंकले नै पोहोर चालु पुँजीको २० प्रतिशत र आवधिकको १० प्रतिशत थप कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई लगाएको थियो। राष्ट्र बैंक सुपरिवेक्षण विभागका अनुसार, यस्तो ऋण बैंकको ‘पोर्टफोलियो’ हेरेर एक अर्बदेखि १० अर्ब रुपैयाँसम्म गएको छ। राष्ट्र बैंकले यस्तो ऋण पोहोर कति गयो भनेर साउन १५ गतेसम्म विवरण पठाउन बैंकहरुलाई निर्देशनसमेत दिइसकेको छ।’यो ऋणको कारण हाम्रो हिसाबमा एक खर्ब हाराहारी ऋण हुनेको १०/१२ करोडदेखि अधिकतम २० करोडसम्म थप प्रोभिजनिङ हुने देखिन्छ,’ त्यहाँका एक अधिकारीले भने। राष्ट्र बैंकको यो नीतिका कारण ग्राहक झन् मर्कामा पर्ने एक पूर्व बैंकरले बताए। उनका अनुसार, अहिले १ प्रतिशत गरिरहेको प्रोभिजनिङलाई ५ प्रतिशत पुर्‍याउनु पर्ने भएपछि बैंकले ऋणीलाई पैसा तिर्न च्याप्छन्। ‘कोभिडमा दुःख परेर ऋण लगेका हुन्। केहीले एभरग्रिनिङ पनि गरे होलान्। तर यो सहयोग गर्ने बैंकमाथि अन्याय नै हो,’ उनले भने, ‘अब ती ऋणीसँग जबर्जस्ती पैसा उठाउनुपर्ने अवस्था भयो।’ यसबाहेक राष्ट्र बैंकले असल ऋणमै पनि प्रोभिजनिङ बढाएको छ। अहिले असल ऋणमा १ प्रतिशत मात्र नोक्सानी व्यवस्थापन गरे पुग्ने थियो। अब १.३ प्रतिशत गर्नु पर्छ। जसले बढी व्यापार बढायो त्यो बैंकको प्रोभिजनिङ स्वाट्टै बढेर नाफामा ठूलो असर देखिने भएको छ। जस्तो असार मसान्तसम्ममा सबैभन्दा बढी ऋण एनआइसी एसिया बैंकले २ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँ दिएको छ। ०.३ प्रतिशत बिन्दुले प्रोभिजनिङ बढ्दा यसले नाफा ‘बुक’ गर्न ठिक्क पारेको पैसाबाट ७९ करोड ४५ लाख रुपैयाँ घटाउनु पर्छ। एकदमै कम प्रोभिजनिङ गर्नु पर्ने नेपाल बंगलादेश बैंकको मात्रै पनि २१ करोड ३५ लाख रुपैयाँले नाफा घट्छ। यो ०.३ प्रतिशत बिन्दुका कारण भएको असर हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्