आजबाट सवारीसाधन जोरबिजोर प्रणाली रद्द भयो

Machchapuchchre

अर्थ राजनीति  ~  सार्वजनिक सवारीसाधन सञ्चालनका लागि काठमाडौं उपत्यकामा जारी रहेको जोरबिजोर प्रणाली मंगलबारदेखि हट्ने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुसहितको आइतबार बसेको बैठकले मंगलबारदेखि लागु हुने गरी निजी तथा सार्वजनिक सवारीमा रहेको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी निषेधाज्ञा सम्बन्धी सूचनामा भनिएको छ, “काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरु स्वीकृत सिट क्षमता अनुसार मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनेछन् ।”सञ्चालनमा आउने सवारीले कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्न अनुरोध गर्दै सूचनामा सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउन र नलगाउनेलाई सवारी साधनमा प्रवेश गर्न नदिने उल्लेख छ । चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनु पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने, सफा टेम्पो तथा निलो माइक्रोले पनि सबै खाले स्वास्थ्य सुरक्षामा बुँदा मापदण्ड पालना गरी संचालन गर्ने सक्ने उल्लेख छ । सूचना अनुसार, पछाडि तेस्रो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रु भन्दा नबढाउने गरी टेम्पो तथा निलो माइक्रोले यात्रु सवार गर्न पाउनेछन् भने सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनु पर्नेछ । उपत्यकाभित्र संचालन हुने निजी सवारी साधनको हकमा पनि स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी संचालन गर्ने सकिने उल्लेख छ । अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरु प्रवेश गर्न पाउनेछन् । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्