कांग्रेस महाधिवेशन : क्रियाशील सदस्यता छानविन असार मसान्तभित्र सक्न तीव्रता

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले असार मसान्त भित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी काममा तीव्रता दिएको छ । कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्यता छानविन समितिलाई समयमै काम सम्पन्न गर्ने दवाव बढेको हो । देशैभरिका स्थानीय पालिकाको वडा–वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुङ्गो लगाउन समस्या परेको थियो । पुराना सदस्यहरूको क्रियाशील सदस्यको नविकरणमा समस्या भए पनि नयाँ सदस्य र विभिन्न पार्टीहरू एकीकरण भइ समायोजनमा आएकाहरूमा विवाद देखिएको छ । क्रियाशील सदस्यको सूची प्रमाणित गरेर वडा, गाउँपालिका नगारपालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमिति हुँदै केन्द्रमा आउनुपर्ने व्यवस्था छ ।छानविन समितिका सदस्य एंव केन्द्रीय सदस्य श्याम प्रसाद घिमिरेले प्राप्त विवरणहरूलाई हेर्दा धेरै ठूलो समस्या नरहेको र तोकिएको समायमा छानविन गरी विवरण सभापतिलाई बुझाउन सकिने बताउनुभयो । प्राविधिक कामको चापलाई घटाउने गरी काम भइरहेको उहाँको भनाइ छ । समितिमा प्राप्त भएको विवरणमा परेको उजुरीलाई पनि समयमै छानविन गरी टुङ्गो लगाउने समिति सदस्य घिमिरेले बताउनुभयो । नेपाली कांग्रेसको क्रियाशील सदस्य करिब ९ लाख पुग्ने अनुमान गरिएको छ । नेपाली कांग्रेसको संगठनमा क्रियाशील सदस्यलाई सक्रिय कार्यकर्ता मानिन्छ । छानविन समितिलाई प्राप्त भएको नामावली विवरण हेर्दा युवाहरूको ठूलो हिस्सा कांग्रेसमा रहेको समिति सदस्य घिमिरेले जानकारी दिनुभयो । प्राप्त विवरणमा ३० देखि ४० बर्षको उमेर समूहका सबैभन्दा बढी ४० प्रतिशत रहेको उहाँले बताउनुभयो । कांग्रेसमा नेतृत्व विकाश क्रमशः युवा पुस्तामा सर्दै गएको क्रियाशील सदस्यहरूको विवरणले देखाएको उहाँको भनाइ छ। कांग्रेसको महाधिवेशन आगामी भदौ २३ गते भित्र अनिवार्य गरिसक्नुपर्नेछ । यसैमा महाधिवेशन तयारीका कामहरू पनि भइरहेका छन् । नेपाली कांग्रेसमा क्रियाशील सदस्यहरूले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छानेर पठाउने छन् भने केन्द्रीय समितिका सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । १३औं महाधिवेशन २०७२ फागुनमा गरेको कांंग्रेसले १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्