कांग्रेसमा चुनावी चहलपहल सुरू

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको चौधौँ महाधिवेशनका लागि वडा तहबाट सुरू हुने अधिवेशनको चहलपहल सुरू भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न सुरू गरेका छन् । जिल्ला सभापतिमा मात्रै हालसम्म आठ जनाले उम्मेदवार हुने जनाएका छन् । यो सङ्ख्या घटबढ हुनसक्ने बताइएको छ । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा हुने जनाएपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशी सभापतिको दौडमा हुनुहुन्छ । पूर्वसांसद एवं तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, नेपाल विद्यार्थी सङ्घका जिल्ला पूर्वअध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा डा. सूर्यकान्त घिमिरे तथा प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले सभापतिको उम्मेदवारी दिने बताउनुभएको छ ।

चितवन क्षेत्र नं १ का महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ का राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषाल सभापतिको चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरु मध्ये कतिपयले १३औँ महाधिवेशनपछि जिल्ला सभापतिमा चुनाव लड्ने भन्दै तयारी गर्दै आउनुभएको छ । जिल्ला सभापति श्रेष्ठ वडादेखि केन्द्रसम्म उम्मेदवार हुनेहरुले आफ्नो चुनावी प्रचार थालिसकेको बताउनुहुन्छ । चुनाव हुन्छ या हुँदैन भन्ने दोधारका बीच मिति तय भएपछि कोभिडको अवस्थामा पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् । जिल्लामा २७ हजार ८५५ क्रियाशील सदस्य रहेका छन् । तीमध्ये १० हजार ८०७ जना नयाँ हुन् । आजसम्म पुरानाको नवीकरण हुने भएकाले ३०/४० जना थप हुने अनुमान छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्