पेन्सन भुक्तानी बापत अब बैंकले कमिशन नपाउने

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले राष्ट्र सेवक कर्मचारीको मासिक निवृत्तिभरणको रकम सिधै  सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणालीको विकास गरेसँगै वार्षिक झण्डै ५५ करोड बचत हुने भएको छ । यसअघि मासिक पेन्सन रकम पहिला बैंकले नै जम्मा गरिदिन्थ्यो भने पछि बैंकलाई सरकारले सोधभर्ना दिने गरेको थियो ।महालेखाका अनुसार बार्षिक निवृत्तिभरणमा ५५ अर्ब खर्च हुने गरेको छ । बैंकहरुले आफै सम्बन्धित व्यक्तिको खातामा पठाएबापत सरकारले उसलाई एक प्रतिशत कमिशन तिर्नुपर्थ्यो । यसकारण सरकारको ५५ करोड कमिसनकै लागि खर्च हुने गरेको थियो । अब नयाँ व्यवस्थासँगै कमिशन रकम बचत भएको हो । इलेक्ट्रोनिक फण्ड ट्रान्सफर प्रणालीबाट सो रकम सिधै सम्बन्धित व्यक्तिको खातामा पुग्ने व्यवस्था गरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बैंकबाट सम्बन्धित व्यक्तिको खातामा हालिदिँदा हुने हिसाब मिलानको झन्झट अन्त्य भएको बताए । उनले भने, ‘सरकारले जुन दिन खर्च लेख्छ त्यही  दिन जाने भयो । पहिला सोधभर्ना दिने हिसाब किताब मिले-मिलेन जाँच्न अप्ठेरो थियो । ’यसबाट निजामति कर्मचारी, प्रहरी, शिक्षकलगायत तर्फ करिब २ लाख ७६ हजार सक्रिय निवृत्त कर्मचारी लाभान्वित हुने महालेखाले भनेको छ । निवृत्तिभरण व्यवस्थापनमा सरकारको ठुलो रकम खर्च हुने गरेको छ । इलेक्ट्रोनिक फण्ड ट्रान्सफरमा निवृत्तको परिवारहरुलाई भने समेट्न बाँकी रहेको महालेखाले भनेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्