विभागद्वारा नक्कली भ्याट बिल प्रयोग गर्ने विरुद्ध मुद्दा दायर

Machchapuchchre

अर्थ राजनीति  ~  नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्ने कम्पनीमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धानमा सक्रियता बढाएको छ। विभागले सोमबार मात्रै ६ कम्पनीको अनुसन्धान सकेर मुद्दा दायर गरेको छ। २०७० देखि २०७५ सम्म नक्कली भ्याट बिलको अधिक बिगबिगी रहेको विभागले जनाएको छ। एक अनुसन्धान अधिकृत ले भने ‘आर्थिक वर्ष ०७१/७२ देखि ०७४/७५ सम्म धेरै कम्पनीले नक्कली बिजक प्रयोग गरेको पाएका छौं।’ ती अधिकारीका अनुसार विभागले हाल ८ सय वटाभन्दा बढी कम्पनीविरुद्ध छानबिन गरिरहेको छ। विभागले सोमबार मात्रै नक्कली भ्याट बिल प्रयोग गरेको आरोपमा ग्लोबल इम्पेक्स इन्टरनेशनलका प्रोप्राइटर किसनकुमार अग्रवालविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ। मुद्दामा उनीविरुद्ध ४ करोड ७ लाख बिगो मागदाबी गरिएको छ। यस्तै एसएन इन्टरनेशनलका प्रोप्राइटर रामनिवास अग्रवालविरुद्ध ४ करोड ५२ लाख बिगो मागदाबी गरिएको छ। सीमा क्षेत्रबाट भन्सार जाँच पास नगराइ  श्यामकुमार बानियाँसमेत दुई जनाले राजस्व चुहावट गरेको अभियोगमा ५ करोड ५० लाख माग दाबी गरिएको छ। यी दुईविरुद्ध उच्च अदालत तुलसीपुरमामा मुद्दा दर्ता गरिएको हो। यसैगरी भुसा सप्लायर्सका सञ्चालक दीपेन्द्रप्रसाद कलवार समेत ४ जनाले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा १ करोड २२ लाख मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा मुद्दा दायर गरिएको छ। यस्तै सत्यनारायण प्रसादले आयकर छली गरेको भन्दै ९९ लाख मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ। अमनकुमार तिवारीले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा मुद्दा दायर गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्