नयाँ स्टक एक्सचेन्जको आवश्यक देखियो : बोर्ड

Machchapuchchre

अर्थ राजनीति   ~  धितोपत्रको दोस्रो बजारलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको धितोपत्र बोर्डको एक अध्ययन प्रतिवेदनले देखाएको छ । हालै धितोपत्र बोर्डका डेपुटी कार्यकारी निर्देशक डा नवराज अधिकारीको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनले यस्तो सुझाएको हो । नेप्से परिसूचकसँगै, बजारको आकार, पहुँच र लगानीकर्ताको संख्या बढ्नुका साथै हालको नेपाल स्टक एक्सचेन्जले राम्रो काम गर्न नसकेकाले निजी क्षेत्रको लगानीमा नयाँ एक्सचेन्ज कम्पनी आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ । समितिले बोर्ड व्यवस्थापनसमक्ष प्रतिवेदन बुझाइसकेको छ । तर आइतबारसम्म उक्त प्रतिवेदन सञ्चालक समितिमा पेस भएको छैन ।‘पहिले सञ्चालक समितिबाट पारित हुनुपर्‍यो । अनि अर्थ मन्त्रालयको अनुमति चाहियो,’ बोर्ड स्रोतले भन्यो, ‘त्यसपछि मात्र नयाँ एक्सचेन्ज लाइसेन्सको प्रक्रिया सुरु हुने देखिन्छ ।’ यस पटक पनि बोर्डले आन्तरिक रूपमा अध्ययनसमेत गरिसकेकाले फेरि एक पटक कोसिस गर्ने बोर्डको योजना रहेको बताइएको छ । ‘कम्तीमा पनि एउटा एक्सचेन्ज कम्पनी ल्याउनैपर्ने देखियो,’ स्रोतले भन्यो, ‘एकातिर बजारलाई प्रतिस्पर्धी पनि बनाउनुपर्‍यो भने अर्कातिर कसै गरे पनि नेप्सेमा सुधारको गुञ्जायस देखिएन ।’

धितोपत्र बोर्डले धेरै पहिलेदेखि नै नयाँ स्टक एक्सचेन्ज कम्पनी भित्र्याउने तयारी गरेको थियो । त्यसका लागि अनेक प्रयास भएका थिए । तर अर्थ मन्त्रालयबाट सकारात्मक संकेत नपाएपछि प्रक्रिया अघि बढ्न सकेको थिएन । यसअघिका दुई आर्थिक वर्षका नीति तथा कार्यक्रममा बोर्डले निजी क्षेत्रको लगानीमा नयाँ एक्सचेन्ज कम्पनी ल्याउने उल्लेख गरेको थियो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा भने उक्त विषय हटाइएको छ । बरु यो आर्थिक वर्षमा नीति तथा कार्यक्रममा नेप्सेको संरचनात्मक सुधार गर्ने उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्