शैक्षिक प्रमाणपत्र बुझाएर २५ लाख ऋण कसरि पाइन्छ ?

Machchapuchchre

अर्थ राजनीति  ~  शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था चार वर्ष अघिदेखि शुरुवात भएको हो । सो समयमा ७ लाखको अधिकतम सीमा थियो भने आगामी आर्थिक वर्षको बजेटले २५ लाख रुपैयाँसम्मको सीमा तोकेको छ । तर यसलाई बिलकुलै सरकारको नयाँ कार्यक्रमको रुपमा बुझ्नेहरू पनि छन्  तर, ऋण लिन त्यति सजिलो भने छैन । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कलाई नै हेर्ने हो भने हालसम्म यस्तो ऋण पाउनेको संख्या १३९ जना मात्र छन् । ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान’ का ७ प्रकारका योजनाहरु मध्येको एक योजना हो, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने  व्यवस्था । यो योजनाको सकारात्मक र नकारात्मक दुवै खालका टिप्पणी सुन्न पाइन्छ । तर हालसम्म सरकारको योजना सफल रुपमा कार्यान्वयन भएको देखिँदैन । कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४२ हजार ४ सय ४७ जनाले ऋण लिएका छन् भने महिला उद्यमशील कर्जा अन्तर्गत ४५ हजार १ सय २८ महिला उद्यमीले कर्जा लिएका छन् । यसबाहेक अन्य कुनै कर्जा प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको राष्ट्र बैङ्ककै तथ्याङ्कले देखाउँछ ।

शैक्षिक प्रमाण पत्र धितो कर्जा प्रमाण पत्र पेश गर्ने वित्तिकै सहजै पाउन सकिन्छ भन्ने होइन । यसका लागि पनि निश्चित मापदण्ड पुरा गरेको हुनुपर्छ ।  सबैभन्दा पहिले ‘प्रोजेक्ट डिजाइन’ पेश गर्नुपर्छ । साथै, बैङ्कलाई आवश्यक पर्ने सबै कागजातसमेत पेश गर्नुपर्छ । उक्त कार्ययोजना प्रति बैङ्क सन्तुष्ट भएमा मात्रै आवश्यक प्रक्रिया अघि बढ्छ । होइन भने त्यहीँ नै तपाईंको प्रक्रिया रोकिन्छ । बैङ्कहरूले आफुले गर्ने लगानीको जोखिम छ छैन सो प्रति निकै चनाखो हुन्छन् । लगानी नडुब्ने देखिएमात्र ऋण प्रवाहमा रुचि देखाउँछन् ।सहुलियतपूर्ण कर्जाका लागि कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट अनिवार्य सुरक्षण (बिमा) गराउनुपर्नेछ । यसरी कर्जा सुरक्षण गर्दा सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै ब्यहोरे पुग्ने व्यवस्था छ ।  ७५ प्रतिशत नेपाल राष्ट्र बैङ्कमा रहेको अनुदान शोधभर्ना खातामार्फत शोधभर्ना हुनेछ । कारण वश शैक्षिक प्रमाणपत्र धितो राखेर बैङ्कहरूले दिएको ऋण उठ्न नसकेमा यही कोषमा बैङ्कहरूले दाबी गरेर लिन सक्ने व्यवस्था पनि छ । यस्तो कर्जा ऋणीले ५ वर्षसम्म तिरिसक्नुपर्ने व्यवस्था छ । सो अवधि सकिएको ६ महिनाभित्र ऋणीले कर्जा चुक्ता नगरेमा सम्बन्धित बैङ्कले निक्षेप तथा कर्जा सुरक्षण कोषमा दाबी गर्नेछ । यसरी दाबी हुन आएपछि कोषले नियमानुसार भुक्तानी गर्ने व्यवस्था छ ।

शैक्षित प्रमाणपत्र धितो कर्जा लिनका लागि सबैभन्दा पहिला सो लिने व्यक्तिसँग स्थायी लेखा नम्बर (प्यान प्रमाणपत्र) हुनु जरुरी छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको र कम्तिमा स्नातक उत्तीर्ण भएको तथा ४० वर्ष उमेर ननाघेको व्यक्ति हुनुपर्छ । घरेलु तथा साना उद्योग कार्यालय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायतका सरकारी निकायबाट कम्तीमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालिम अनिवार्य रूपमा लिएको हुनुपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्