सेयर बजार : एकैदिन १७ अर्बको रेकर्ड कारोबार

Machchapuchchre

अर्थ राजनीति  ~   शनिबार ल्याएको आगामी आर्थिक वर्षको बजेटले अल्पकालीन कारोबारको पुँजीगत लाभकरको दरमा ५० % ले वृद्धि गरेको भए पनि सेयर बजारमा यसको असर देखिएन। पुँजीगत लाभकर वृद्धिले सेयर बजारमा नकारात्मक असर पार्ने अनुमानविपरीत आइतबार बजार उकालो लाग्नुको साथै नयाँ रेकर्ड कायम गरेको छ। बजेटले एक वर्षभन्दा कम अवधिमा बिक्री गरेको धितोपत्रमा हुने लाभ रकममा हाल लाग्दै आएको ५ प्रतिशत करलाई बढाएर साढे सात प्रतिशत पुर्‍याएको छ। यसका बाबजुद नयाँ बजेट सार्वजनिक लगत्तैको सेयर बजारमा १७ अर्ब तीन करोड रुपैयाँ हारारहारीको धितोपत्र किनबेच भएको छ। रकम मात्र नभएर कारोबार भएको धितोपत्रको संख्यामा पनि रेकर्ड कायम भएको छ। आज २१९ कम्पनीको कुल चार करोड २६ लाख ३६ हजार ३४८ कित्ता धितोपत्र किनबेच भएको हो। यसअघि गत बिहीबार मात्र नेप्सेमा कारोबार रकम (१५ अर्बमाथि) र कारोबार भएको सेयर संख्या (४ करोड १८ लाख १३ हजार) को नयाँ रेकर्ड कायम भएको थियो।

सबैलाई रिझाउने सोचका साथ आएको  बजेटबाट निजीक्षेत्र खुसी देखिएकाले पनि यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने विश्वास सेयर बजारले देखाएको छ। अर्कोतर्फ, अल्पकालीन कारोबारमा पुँजीगत लाभकर बढाइएको भए पनि दीर्घकालीन कारोबारमा यथावत राखिएकाले यो नीतिलाई लगानीकर्ताले सरकार स्थिर सेयर बजारको पक्षमा रहेको सन्देशका रूपमा लिएको बुझिन्छ। यसकारण पनि आज रेकर्ड कारोबार भएको हो। आइतबार कारोबारको नयाँ रेकर्डसँगै सेयर बजार सूचक नेप्से पनि उकालो लागेको छ। गत बिहीबार बजार बन्द भएको विन्दुबाट १२.५४ अंकले बढ्दै नेप्से २८२८ विन्दु नजिक पुगेको छ। नियमित कारोबार सुरु हुनेबित्तिकै २८५१ विन्दु पुगेको सूचक दिउँसो १:२० तिर २८५४ विन्दुसम्म उक्लिएको थियो। यस क्रममा आज सेयर बजारले करिब ३८ अंकसम्मको उछाल भेट्दै अन्त्यमा धेरैजसो समूह हरियो बनेर बन्द भएको छ। पछिल्लो केही समयदेखि सेयर मूल्यमा उच्च मूल्यवृद्धि हुने कम्पनीहरुको सूचीमा अधिकांश जलविद्युत क्षेत्रका भए पनि आइतबार भने यसमा मिश्रित प्रवृत्ति देखियो। यसअघिको रेकर्ड कारोबार भएको बिहीबार सर्वाधिक मूल्य बढ्ने ३० कम्पनीमध्ये २७ वटा जलविद्युतका थिए।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्