राष्ट्रपतिले दिएकाे समयसीमा सकिँदै सरकार गठन अझै अन्याैलमा

Machchapuchchre
अर्थ राजनीति  ~  मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकाे तीन दिकाे समयसीमा बिहीबार साँझ ९ बजे सकिँदैछ तर नयाँ सरकार गठनकाे कसरतमा लागेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाकाे यादव-भट्टराई समूहले बहुमत पुर्याउन सकेका छैनन्। फलस्वरुप नयाँ सरकार गठन अन्याैलमा छ। २७ वैशाखमा प्रधानमन्त्री केपी ओलीले विश्वासकाे मत लिँदा संसदमा अनुपस्थित एमाले माधवकुमार नेपाल-झलनाथ खनाल समूह र संसदमा तटस्थ बसेकाे तथा नयाँ सरकार गठनकाे विपक्षमा रहेकाे जसपा महन्थ ठाकुर-राजेन्द्र महताे समूहले गठबन्धनलाई साथ नदिँदा अन्याैल भएकाे हाे। यद्यपि,माधवकुमार नेपाल पक्षलाई राजीनामा गराउन विपक्षी गठबन्धन लागिपरेको छ। एमालेका असन्तुष्ट पक्षको राजीनामा वा समग्र जनता समाजवादी पार्टी एकढिक्का नभएसम्म विपक्षी गठबन्धनको बहुमत पुग्दैन। हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन कम्तीमा पनि थप १२ सांसदको आवश्यकता पर्छ। कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन्। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षमा १५ वा १६ जना छन्। यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन्। बहुमतका लागि १ सय ३६ आवश्यकता पर्छ। एमालेको नेपाल पक्षका प्रत्यक्षतर्फका १९ जनाले राजीनामा दिँदा प्रतिनिधिसभामा सांसद संख्या २ सय ५२ हुन्छ। बहुमतका लागि १ सय २७ आवश्यक हुन्छ। नेपाल पक्षका १९ जनाले राजीनामा दिँदा पनि बहुमत जुटाउन सकस नै छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्