विकास बैंकलाई संरक्षण जरुरी छ – डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने उद्देश्यका साथ मर्जर तथा एक्विजिसन नीति जारी गरेसँगै सबैभन्दा बढी प्रभाव विकास बैंकलाई प-यो । पाँच वर्षअघि सर्वाधिक ८८ वटासम्म विकास बैंक सञ्चालन भएकोमा हाल १७ वटामा झरेको छ । नेपालमा ९० प्रतिशत व्यवसाय साना तथा मझौला भएकाले उनीहरूलाई वित्तीय सेवा पु-याउनका लागि विकास बैंक आवश्यक रहेको भन्दै यसलाई संरक्षण गर्न जरुरी रहेको बताउँछन् डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेल । क्षेत्रीय र जिल्लास्तर हुँदै राष्ट्रिय स्तरसम्म पुगेका विकास बैंकहरूको पहिचान नै ‘लोकल टच’ सहितको सेवा रहेको भन्दै त्यो मौलिकतालाई नबिर्सिएको उनको दाबी छ । सरकारले कानुनमै व्यवस्था गरेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीको भूमिका निर्धारण गर्ने हो भने वित्तीय प्रणालीका लागि राम्रो हुने उनको सुझाव छ । मुक्तिनाथ विकास बैंकको सीईओ रहेका पोखरेलले हालै मात्र विकास बैंकहरूको छाता संगठनको अध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालेका छन् । सन् २०१२ मा नेपालमा विकास बैंकको संख्या सर्वाधिक ८८ वटा पुग्यो । यो समयमा वाणिज्य बैंक, फाइनान्स कम्पनी र लघुवित्तको संख्या पनि बढी थियो । राष्ट्र बैंकले २०६८ सालमा मर्जर, २०७१ सालमा एक्विजिसन र दुवैलाई एकीकृत गरेर मर्जर तथा एक्विजिसन नीति–२०७३ ल्याएपछि बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने क्रम चल्यो । आजको दिनमा वाणिज्य बैंकको संख्या २७ वटा, विकास बैंकको १७ वटा, फाइनान्सको २० वटा, लघुवित्तको संख्या ७६ वटा छ । मर्जर नीतिले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तको संख्या घटे पनि तुलनात्मक रूपमा वाणिज्य बैंकको संख्या घट्न सकेको छैन ।

विकास बैंकको यो संख्या राज्यलाई चाहिन्छ । यसको आफ्नै महत्व छ । तीन सय वर्षअघि युरोपबाट विकास बैंकको अवधारणा सुरु भएको हो । फ्रान्स, जर्मनी र जापानलगायतका देशहरूले कुनै निश्चित क्षेत्रको विकास गर्नका लागि यो मोडल प्रयोग गरियो । वाणिज्य बैंक हुँदाहँदै कुनै क्षेत्र वा विशेष वर्गलाई वित्तीय सेवा दिन उनीहरूको उत्थान गर्नका लागि विकास बैंकको सुरुवात गरिएको हो ।
नेपालको अर्थतन्त्रमा ९० प्रतिशत योगदान साना तथा मझौला व्यवसायको छ । यस्ता साना व्यवसायलाई समावेशी वित्तीय सेवा दिनका लागि विकास बैंकको भूमिका महत्वपूर्ण हुन्छ । विकास बैंक स्थानीय तहबाट आएको भएकाले यिनीहरूबाट सेवा दिन सहज र सजिलो हुन्छ । ठूला बैंकमा जान ग्रामीण क्षेत्रका, गरिब र विपन्न वर्गका जनता अप्ठेरो मान्छन् । तुलनात्मक रूपमा विकास बैंकमा त्यो अप्ठ्यारो मान्दैनन् । विकास बैंकको नाममै विकास जोडिएकाले सकारात्मक छ । अहिलेको अवस्थामा प्रतिस्पर्धाको विकास बैंकको भूमिका धेरै राम्रो छ । अहिले वाणिज्य बैंक पुग्ने ग्राहक विकास बैंकमा पनि आउँछन् । यसको अर्थ हामीले दिने सेवा पनि वाणिज्य बैंकको तुलनामा कमजोर छैन । बरु विकास बैंकहरूले स्थानीय तहमा ग्राहकसँग नजिक रहेर सर्वसुलभ र छिटो–छरितो सेवा दिँदै आएका छन् । ग्राहकलाई सेवाको गुणस्तर होस् या लागतको विषय होस्, विकास बैंकको भूमिका प्रभावकारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्