बागमती प्रदेशमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

Machchapuchchre

अर्थ राजनीति  ~  २३ जना सांसद रहेको नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। सोमबार काठमाडौंमा भएको संसदीय दलको बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको हो। माओवादी र माधवकुमार नेपाल पक्षबाट मन्त्री बनेकाहरुले यसअघि नै पदबाट राजीनामा दिइसकेका छन्। प्रदेश सरकारविरुद्ध यसअघि माओवादी र एमालेको माधवकुमार नेपाल पक्षले दर्ता गरेको अविश्वासको प्रस्ताव अघि बढ्ने अवस्था नरहेका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले जानकारी दिए। बैठकले संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल, उपनेता कुमारी मोक्तान, प्रमुख सचेकमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएता पनि मुख्यमन्त्री डोरमणि पौडेलको सरकार भने झनै बलियो बन्दै गएको छ । बागमती प्रदेशमा एमाले एक्लैको बहुमत रहेको छ । कुल एक सय १० सांसदमध्ये ५७ जना सांसद एमालेका रहेका छन् ।
यसैवीच, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको संसदीय दलको बैठक बोलाएर आफूविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन माधवकुमार नेपाल पक्षका सांसदहरुलाई निर्देशन दिने तयारी गरेका छन् । पौडेलले बुधबारलाई एमाले संसदीय दलको बैठक बोलाएका छन् । एमालेकै सांसद अष्टलक्ष्मी शाक्यलगायत ४५ जना सांसदहरुको हस्ताक्षरसहित गत पुस १० गते मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको थियो । बुधबारको संसदीय दलको बैठकमा एमालेकै माधवकुमार नेपाल समूहका सांसद सहभागी हुन्छन् या हुँदैनन भन्ने बारे अझै टुंगो लागेको छैन । बुधबारको बैठकमा सरकारमा नयाँ मन्त्रीहरु नियुक्त गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि माओवादीका जमरकट्टेल, र युवराज दुलाल र माधवकुमार नेपाल पक्षका अरुण नेपालले राजीनामा दिएपछि तीन वटा मन्त्रालय मन्त्रीबिहीन अवस्थामा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्