नक्कली नागरिकता र नक्कली जग्गाधनी पूर्जा बनाइ जग्गा बिक्री, ९ जना पक्राउ

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । काठमाडौंको थानकोटमा रहेको २० आना जग्गा वास्तविक धनीलाई थाहै नदिई उनकै नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी पूर्जा बनाइ अर्को व्यक्तिलाई बिक्री गरेको आरोपमा ९ जनालाई विभिन्न मितिमा काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ बस्ने ४७ वर्षीय विजयकुमार खड्का, धादिङ नीलकण्ठ नगरपालिका पतेनी घर भई हाल चितवनको राप्ती नगरपालिका–२ पिप्ले बस्ने बालप्रसाद भट्ट, काभ्रेको पनौती नगरपालिका–४ का रामचन्द्र पुडासैनी भनिने पुण्डेप्रसाद काफ्ले, संखुवासभा नूनढाकी गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–१८ भैंसेपाटी बस्ने ६३ वर्षीय इन्द्रबहादुर खत्री भनिने इन्द्रबहादुर घले रहेका छन् । यस्तै पक्राउ पर्ने अन्यमा रामेछापको मन्थली नगरपालिका–११ का बालकृष्ण बुढाथोकी, सिन्धुपाल्चोकको ठूलोधादिङ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने लक्ष्मी घतानी रहेका छन् । यसैगरी ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ४६ वर्षीय विजयप्रकाश सुनुवार, सिन्धुलीको कमलामाई नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने कृष्ण थापा मगर भनिने कृष्णबहादुर दर्लामी र झापाको कचनकवल गाउँपालिका–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ४५ वर्षीय कृष्णबहादुर कटुवाल पनि पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले कीर्ते लालपूर्जा बनाइ जग्गा बिक्री गर्ने प्रक्रियाका लागि मीना खड्काको ठाउँमा लक्ष्मी घतानीलाई खडा गरेका थिए । जग्गाधनी मीना भने बेल्जियममा रहेकी छन् । उनीहरुले नक्कली लालपूर्जामा वास्तविक नाम मीना खड्काको राखी फोटो लक्ष्मी घतानीको टाँसेको पाइएको छ । उक्त जग्गा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ का कृष्णगोपाल श्रेष्ठ, रत्नकेशरी माका श्रेष्ठ, कृष्णभक्त माका श्रेष्ठ र विजयलक्ष्मी श्रेष्ठलाई बिक्री गरी ७२ लाख रुपैयाँ ठगी गरेका थिए ।  पक्राउ परेका ९ जनामाथि ठगी, लिखतसम्बन्धी कसूर र संगठित अपराधको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्