दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार टेलिकमको नाफामा गिरावट

Machchapuchchre

अर्थ राजनीति ~  नेपालको दूर सञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको वित्तीय अवस्था हरेक त्रैमासमा खस्किन थालेको छ। घट्दो व्यापार र बढ्दो खर्चले कम्पनीको अवस्था कमजोर हुँदै गएको हो भने बुझिन्छ। नेपाल टेलिकमले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार, खुद मुनाफा उल्लेख्य रूपमा घटेको देखिएको छ। कम्पनीका अनुसार, नाफा ३३.४० प्रतिशतले घटेर ३ अर्ब २८ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्षको पुसमा नाफा ४ अर्ब ९३ करोड रुपैयाँ थियो। टेलिकमले ग्राहकलाई इन्टरनेट, मोबाइल र ल्यान्डलाइन सेवा बिक्री गर्छ। यस्तो आम्दानी १.७४ प्रतिशतले घटेको छ। अघिल्लो पुसमा कम्पनीले यस्तो आम्दानी १८ अर्ब ३ करोड गरेको थियो। कुल आम्दानी २१ अर्ब ९२ करोडबाट २० अर्ब ५७ करोडमा आएको छ। कम्पनीको ‘परफर्मेन्स’ खस्किए पनि सेयर बजारमा मूल्य भने निरन्तर बढिरहेको छ। कम्पनीले गत वर्षको मुनाफाबाट के कति लाभांश बाँड्ने भनेर अहिलेसम्म केही घोषणा गर्न सकेको छैन। तर सर्वसाधारणको सहभागिता बढाउने हल्लाका कारण सेयर मूल्य भने प्रभावित भएको देखिन्छ। कम्पनीले अहिलेसम्म ४५ देखि ५५ प्रतिशत नगद लाभांश मात्र वितरण गर्दै आएको छ । कम्पनीको वार्षिकोत्सव कार्यक्रममा सञ्चार मन्त्री पार्वत गुरुङले सर्वसाधारणको सहभागिता बढाउनुपर्ने बताएका छन्। कम्पनीले पनि यसका लागि केही गृहकार्य गरिरहेको छ। कम्पनीले थप पुँजी लगाएर विदेशी रणनीतिक साझेदार नल्याउने बरु व्यवस्थापन हेर्ने जिम्मा विदेशीलाई दिने तयारी गरिरहेको पनि चर्चा  छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्