आज पनि नेप्से ३७ अंकले बढ्यो, हरेक दिन जसो नयाँ रेकर्ड

Machchapuchchre

अर्थ राजनीति ~  सोमबार पनि सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बजार पुँजीकरण सर्वाधिकका साथै नेप्से सूचक र कारोबार रकम पनि सर्वाधिक भएको छ । अधिक बैंकिङ तरलता, न्यूनतम ऋणको ब्याजका कारणले नै बजारलाई बढ्न प्रेरित गरिरहेको देखिन्छ । इन्फ्रास्ट्रक्चर बैंकको सेयर सूचीकरणपछि बढ्दो क्रममा जाने र यसले बजारलाई अझ उचाइमा पुर्‍याउने विश्लेषण समेत हुन थालेको छ । सोमबार कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्से सूचक ३७ अंकले बढेको छ । आज २०६ कम्पनीको २ करोड कित्ता सेयर ९२ हजार पटक किनबेच भएका छन् । ७५ कम्पनीको मात्र मूल्य बढेको छ भने ९३ कम्पनीको सेयर मूल्य घटेको छ। ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको देखिन्छ । नेप्से बढेर नयाँ रेकर्ड बनाउँदा २५६१ अंकमा रोकिएको छ । सोमबार पनि सुरुवातमा अधिकांश लघुवित्तको सेयरमा सर्किट लागेपनि बजारमा उतारचढाव आएसँगै लघुवित्तको मूल्य बढ्ने क्रममा ब्रेक लागेको थियो तर  ग्रामीण विकास लघुवित्त बाहेक अन्य कम्पनीमा लागेको सकारात्मक सर्किट धेरैबेर टिक्न सकेन। दिनको अन्त्यतिर लगानीकर्ताको चहलपहल बढेसँगै प्रभु बैंक, सनराइज बैंक, माछा पुच्छ्रे बैंक लगायतका बैंकको सेयर मूल्य ८/८ प्रतिशतले बढेको थियो।  जीवन बीमा समूहको उपसूचक सर्वाधिक २११ अंकले बढेको छ । विकास बैंकको सूचक ८६ अंक, वाणिज्य बैंकको सूचक ६२ अंक, होट २८ अंक र फाइनान्स समूहको सूचक २२ अंकले बढेको छ। यो संगै आइतबार मात्रै बनेको सर्वाधिक कारोबारको रेकर्ड सोमबार नै तोडिएको छ । सोमबारको अधिकांश कारोबार बैंक तथा वित्तीय संस्थामा केन्द्रित भएको छ। सर्वाधिक कारोबार हुने १० मध्ये ९ कम्पनी बैंक तथा वित्तीय संस्था समूहबाटै  रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्