काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने नेपाली खेलाडीहरूलाई जनही २५ लाख रूपैयाँ दिएर सम्मान गर्न सरकारसँग माग गरेको छ । तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै सागका रजत पदक विजेतालाई १५ लाख र कास्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले जनही पुरस्कारको व्यवस्था गर्न सरकार र खेलकुद परिषद्सँग माग गरेका छन् ।
तरुण दलले साग प्रतियोगितामा खेलकुद मन्त्रालय र खेलकुद परिषद (राखेप)ले भ्रष्टाचार गरेको आरोप लगाएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ ।’
तरुण दलले खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिएको तर मन्त्रीहरुलाई दौरा सुरुवाल खरिद तिर लाग्न लज्जाको विषय भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तर्राष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साइकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकताभन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ,’ विज्ञप्तिमा लेखिएको छ ।