चीनसहित पाँच देशका नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द

Machchapuchchre

काठमाडौँ  । नेपालले चीनसहित विभिन्न ५ मुलुकका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ । आगामी ६ मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने नागरिकले अब अनअराइभल भिसा नपाउने भएका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई सरकारले अनअराइभल भिषा बन्द गर्ने भएको छ । अहिले पनि आंतकवादी गतिविधि भइरहेका करीव डेड दर्जन मुलुकका नागरिकलाई नेपालले अनअराइभल भिसा दिँदैन ।

ती देशका नागरिक नेपाल आउनु परे सम्बन्धित देशमै रहेका नेपाली राजदूतावास र कूटनीतिक नियोगमार्फत कोरोनासम्बन्धी स्वास्थ्य परीक्षणसमेतको रिपोर्टका आधारमा आवश्यकता र औचित्य हेरेर भिसा लिन सक्नेछन् । अहिले इराकसहित १३ मुलुकका नागरिकलाई अनअराइभल भिसा सुविधा छैन । अन्य देशका नागरिकले भने नेपालमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अध्यागमनका सम्बन्धित कार्यालयमाफर्त प्रवेशाज्ञा अनुमति लिन पाउने व्यवस्था छ ।

पछिल्लो समय कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । सोही सिलसिलामा अतिप्रभावित मुलुकका नागरिकलाई अनअराइभल भिसा बन्द गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेलले जानकारी दिए ।

अध्यागमन विभाग अन्तर्गत ९ वटा प्रवेश तथा प्रस्थान विन्दुबाट नेपाल आइसकेपछि अनअराइभल भिसा प्राप्त गर्न सकिने सुविधा रहेको छ । हवाई मार्गबाट आउनेहरुका लागि त्रिभुवन विमानस्थलमा आवश्यक व्यवस्था मिलाइएको छ । अनअराइभल जारी हुने सबै भिषा ‘पर्यटक भिसा’ हुन् ।

आइतबार मात्रै मन्त्रिपरिषद् बैठकले कोरोना प्रभावित मुलुकबाट आउने नागरिकलाई भिसा जारीमा कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यासको भोलिपल्टै गृहले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर अध्यागमन विभागमार्फत ५ मुलुकका नागरिकलाई अनआराइभल भिसामा तत्कालका लागि रोक लगाएको हो ।

अनअराइभल भिसा रोकिएपनि ति मुलुकका नागरिक नेपाल आउनै भने रोकिएको होइन् । उनीहरुले सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाट भने भिषा पाउन सक्छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्