भैरहवा हुँदै भारतीय हवाई रूटको सहमति

Machchapuchchre Bank

Artharajniti   ~  नेपालको वर्षौदेखिको मागअनुसार भारतले काठमाडौं–भैरहवा–लखनउ हवाई रूटलाई दुईतर्फी बनाउन सहमति जनाएको छ। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले विशेषत हवाई उड्डयन तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। तर, भारतसँग नेपालले मागेको हवाई रूट यही मात्रै हो त? हिजो भएको सहमति कार्यान्वयन गर्न प्राविधिक परामर्शमा कस्ता अडचन आउन सक्छन्? यो रूट सञ्चालनमा आएमा भैरहवा र पोखरा विमानस्थलसहित नेपालको समग्र हवाई उड्डयन र पर्यटन क्षेत्रमा कति लाभ पुग्छ? नेपालले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै भारतसँग पश्चिमबाट थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो। विशेषगरी भैरहवा, महेन्द्रनगर र नेपालगन्ज हुँदै अन्तर्राष्ट्रिय विमानलाई नेपाल प्रवेश गर्न दिनुपर्ने नेपालको माग थियो।

अहिले पश्चिमबाट नेपाल आउने अन्तर्राष्ट्रिय विमानले सिमरा हुँदै प्रवेश गर्नुपर्ने बाध्यता छ। त्यसपछि पश्चिमतर्फ फर्केर भैरहवा वा पोखरा पुग्नुपर्छ। यसले उडान दूरी बढाएको छ। समय र इन्धन खर्च पनि बढाएको छ।सोमबार जारी नेपाल–भारत संयुक्त वक्तव्यमा हाल एकतर्फी सञ्चालनमा रहेको बी–३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई रूटलाई दुईतर्फी बनाउने उल्लेख छ। यससँगै भारतबाट नेपाल आउने विमानले पनि भैरहवा हुँदै प्रवेश गर्न पाउनेछन्। यसअघि उक्त रूटबाट नेपालबाट भारततर्फ मात्रै विमान उड्न पाउने व्यवस्था थियो। नेपालले मागेका सबै प्रवेशमार्ग भने प्राप्त गरेको होइन। भैरहवा रूट दुईतर्फी बनाउने सहमति भएको हो। महेन्द्रनगर र नेपालगन्जबाट प्रवेशमार्ग उपलब्ध गराउने माग अझै बाँकी छ।

काठमाडौं–भैरहवा–लखनउमा दुई तर्फी हवाई रूटमा राजनीतिक तहमा सहमति भए पनि तत्कालै सञ्चालनमा आउने छैन। नेपाल र भारतका प्राविधिक अधिकारीबीच हवाई ट्राफिक व्यवस्थापन, विमानको उडान उचाइ र सञ्चालन प्रक्रियासम्बन्धी विषय टुंग्याउन बाँकी छ। संयुक्त वक्तव्यमा पनि सहमतिलाई अन्तिम रूप दिन प्राविधिक परामर्श गरिने उल्लेख छ। साथै, दुवै देशबीच छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई पनि यही प्रक्रियाबाट टुंग्याउने भनिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार विगतमा भारतीय पक्षले अनौपचारिक छलफलमा विमानको उडान उचाइसम्बन्धी सर्त राख्न सक्ने संकेत गरेको थियो। भारतले नेपाल प्रवेश गर्ने विमानलाई निश्चित उचाइमा मात्रै उडान गर्नुपर्ने सर्त राखेमा रूटको उपयोग सीमित हुन सक्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्