बैंकमा थुप्रिएको पैसा व्यवस्थापन गर्न राष्ट्र बैंकले एक वर्षमै तिर्‍यो २२ अर्ब ब्याज

Machchapuchchre Bank

Artharajniti ~   बैंक तथा वित्तीय संस्थामा थुप्रिएको पैसा व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा मात्रै २२ अर्ब १२ करोड रुपैयाँभन्दा बढी ब्याज खर्च गरेको छ। बैंकमा निक्षेप बढे पनि त्यसअनुसार कर्जा प्रवाह हुन नसकेपछि राष्ट्र बैंकले बैंकहरूको अतिरिक्त पैसा ब्याज दिएर आफूसँग राखेको हो। सामान्यतया राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पैसा उपलब्ध गराउँछ र त्यसबापत ब्याज लिन्छ। बैंकहरूलाई पैसा अभाव भएका बेला राष्ट्र बैंकले रिपो, स्थायी तरलता सुविधा लगायतका उपकरणमार्फत रकम उपलब्ध गराउँछ। बैंकहरूले यस्तो सुविधा लिएबापत राष्ट्र बैंकलाई ब्याज तिर्छन्। तर बैंकिङ प्रणालीमा पैसा बढी हुँदा अवस्था उल्टिन्छ। बैंकहरूले कर्जा प्रवाह गर्न नसकेको अतिरिक्त पैसा राष्ट्र बैंकमा राख्छन्। राष्ट्र बैंकले त्यस्तो पैसा लिएबापत बैंकहरूलाई ब्याज दिन्छ। पछिल्लो समय बैंकिङ प्रणालीमा यही अवस्था देखिएको छ।

नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थालाई तरलता व्यवस्थापनबापत २२ अर्ब १२ करोड ९३ लाख रुपैयाँ ब्याज भुक्तानी गरिएको छ।अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो ब्याज खर्च ९ अर्ब २ करोड ६५ लाख रुपैयाँ थियो। एक वर्षमै यस्तो खर्च करिब डेढ गुणा बढेको छ। यसअघि आर्थिक वर्ष २०७९/८० मा यस्तो ब्याज खर्च ६ करोड १२ लाख रुपैयाँ मात्रै थियो। आर्थिक वर्ष २०८०/८१ मा बढेर २ अर्ब ८ करोड ८८ लाख रुपैयाँ पुगेको थियो। त्यसपछि खर्च तीव्र रूपमा बढेको देखिन्छ। निक्षेपअनुसार कर्जा विस्तार हुन नसक्नु बैंकमा पैसा थुप्रिदै गएको छ। सर्वसाधारण तथा संस्थाले बैंकमा पैसा जम्मा गरिरहेका छन्। तर उद्योग, व्यापार तथा अन्य क्षेत्रमा लगानीको माग अपेक्षित रूपमा बढ्न सकेको छैन। बैंकले कर्जा दिन नसकेको पैसा आफूसँगै राख्दा तरलता बढ्छ। यसले बजारमा ब्याजदर घटाउने दबाब सिर्जना गर्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्