Artharajniti ~ फिफा विश्वकप २०२६ को समूह ‘के’ अन्तर्गत मंगलबार राति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० गोल अन्तरको विशाल जित दर्ता गरेको छ । पोर्चुगलको यस जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने नुनो मेन्डेस र राफेल लियोले एक–एक गोल थपे । खेलको छैटौँ मिनेटमै क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसपछि १७ औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै अग्रता दोब्बर पारे । ३९ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमै पोर्चुगल ३–० ले अगाडि रह्यो । दोस्रो हाफको ६० औँ मिनेटमा उज्बेकिस्तानका डिफेन्डर अब्डुकोदिर खुसानोभले आत्मघाती गोल गरेपछि पोर्चुगल ४–० ले अगाडि बढ्यो । खेल सकिनु तीन मिनेट अघि ८७ औँ मिनेटमा राफेल लियोले गोल गर्दै ५–० को विशाल जित सुनिश्चित गरे ।
यस खेलसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्व फुटबल इतिहासमा एउटा दुर्लभ र ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । उनी लगातार ६ वटा फिफा विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । रोनाल्डोले सन् २००६ मा आफ्नो पहिलो विश्वकप गोल गरेका थिए । त्यसपछि २०१० र २०१४ मा १–१ गोल, २०१८ मा स्पेनविरुद्ध ह्याट्रिकसहित ४ गोल र २०२२ मा १ गोल गरेका थिए । जारी २०२६ को विश्वकपमा समेत गोल गरेपछि उनले सन् २००६ देखि २०२६ सम्मका सबै ६ वटै विश्वकपमा गोल गर्ने कीर्तिमान बनाएका हुन् । कीर्तिमानको लर्कोमा रोनाल्डो विश्वकप इतिहासमै गोल गर्ने दोस्रो ज्येष्ठ (बुढा) खेलाडी समेत बनेका छन् । उनले ४१ वर्ष १३८ दिनको उमेरमा उज्बेकिस्तान विरुद्ध गोल गर्दै यो सफलता हात पारेका हुन् ।



