Artharajniti ~ श्रम संस्कृति पार्टीका पार्टी अध्यक्ष हर्कराज साम्पाङले सरकार जनताप्रति जवाफदेही नबनेको आरोप लगाएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले सरकारका मन्त्री संसदबाट भागिरहेको बताएका हुन्। उनले संसदमा व्यक्तिगत विषय नभई राष्ट्रिययसम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेको बताए। ‘हामीले बारम्बार प्रश्न उठाका छौँ, व्यक्तिगत कुरा नभई जनतासँग प्रत्यक्ष सम्बन्धित प्रश्न सरकारका मन्त्रीहरूसँग सोध्न खोजेका छौँ’, उनले भने, ‘सीमा नाकाका कुरादेखि लिएर, मँहगी चर्किएकोदेखि लिएर सहकारीपीडितलाई दिन लागिएको रकमको स्रोतदेखि लिएर सुकुमवासीको व्यवस्थापनसम्मका विषयमा सम्बन्धित मन्त्रीहरूसँग प्रश्न सोधेका छौँ। तर मन्त्रीहरू भागेर हिँडिरहनु भएको छ।’ उनले संसदको नियमावली १५ को नियम २ अनुरूप मन्त्री तथा प्रधानमन्त्रीलाई जनताप्रति उत्तरदायी बनाउन सभामुखसँग ‘रुलिङ’को माग गरे। साम्पाङले जनताको प्रश्न सोधिने स्थानमा सरकारका प्रतिनिधि नआउनुले के सन्देश दिन्छ भनी प्रश्न राखे। उनले मन्त्रीहरूसँग प्रश्न सोध्ने वातावरण मिलाउन सभामुखसँग आग्रह गरे। साम्पाङले मन्त्रीहरू आएर जवाफ नदिएसम्म संसदमा विरोध जारी राख्ने जानकारी दिए। यसअघि सभामुख डोलप्रसाद अर्यालले साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसादलाई मर्यादा उल्लघन नगर्न चतावनी दिएका थिए।
” मन्त्रीहरूले जवाफ नदिएसम्म संसदमा विरोध जारी राख्छौँ ” : हर्क साम्पाङ



