Artharajniti ~ मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ । अमेरिका र इरानबीचको वार्ता असफल भएपछि सैन्य दबाब, तेल बजारको उछाल र क्षेत्रीय द्वन्द्वहरू एकसाथ तीव्र बन्दै गएका छन्, जसले युद्धको जोखिम थप बढाएको सङ्केत दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए पनि नफर्किए पनि आफूलाई फरक नपर्ने बताएका छन् । फ्लोरिडाबाट फर्केपछि मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले इरानसँग सम्झौता नभए पनि अमेरिका आफ्नो रणनीतिमा अडिग रहने बताए । यसैबीच, पाकिस्तानमा सप्ताहन्तमा भएको वार्ता निष्कर्षविहीन बनेपछि कूटनीतिक प्रयास झनै कमजोर भएको देखिएको छ । तनावलाई थप चर्काउने गरी अमेरिकी सेनाले सोमबारदेखि इरानी खाडी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ । युएस सेन्ट्रल कमान्डका अनुसार होर्मुज जलडमरूमध्य आसपासका इरानी बन्दरगाहहरूमा आवतजावत गर्ने सबै जहाजमाथि निगरानी र नियन्त्रण गरिनेछ । यद्यपि अन्य देशका जहाजहरूको स्वतन्त्र आवागमनमा अवरोध नपारिने जनाइएको छ । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने यस रणनीतिक जलमार्गमा यस्तो कदमले विश्व बजारमै असर पार्ने अनुमान गरिएको छ । इरानले भने यस्तो कदमलाई अस्वीकार्य भन्दै कडा प्रतिक्रिया जनाएको छ । रिभोलुसनरी गार्ड्सले होर्मुज क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै कुनै पनि उक्साहटको जवाफ कडा रूपमा दिने चेतावनी दिएको छ । इरानी नौसेनाका प्रमुखले अमेरिकी कदमलाई ‘हास्यास्पद’ भन्दै आफ्नो सेनाले क्षेत्रका सबै गतिविधिमा निगरानी गरिरहेको बताए ।
खाडी क्षेत्रमा तनाव चुलिँंदै, वार्ता असफल



