Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । सो बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ । रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्नका लागि आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको हो । गत पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहसँग भएको ७ बुँदे सहमति भएको थियो । सहमतिको बुँदा नं ४ मा रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो । सचिवालय सदस्य गणेश पराजुलीले विगतमा भएको ७ बुँदे सहमति बमोजिम संसदीय दलको बैठकले बालेनलाई दलको नेता छान्ने जानकारी दिए । नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ । शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएकाले त्यसअगावै पार्टीले उनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी राष्ट्रपति कार्यालयलाई दिनेछ । फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याएकाले संविधानको धारा ७६(१) बमोजिम बालेनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।
रास्वपा केन्द्रीय समिति बैठक आज, लगत्तै संसदीय दलको नेता छान्न बैठक



