कांग्रेस संकट : समानान्तर गतिविधिको तयारीमा देउवा समूह

Machchapuchchre Bank

Artharajniti ~  प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार बेहोरेपछि झन्डै आठ दशक लामो राजनीतिक विरासत बोकेको लोकतान्त्रिक दल नेपाली कांग्रेस कठिन मोडमा पुगेको छ । निर्वाचनमा पार्टीले भोग्नु परेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगनकुमार थापाले नेतृत्वमा आएको ६४ दिनमै राजीनामा दिनु कांग्रेसका लागि असाधारण राजनीतिक घटना बनेको छ । ऐतिहासिक र लोकतान्त्रिक मूल्य बोकेको कांग्रेसले निर्वाचनमा भोग्न परेको पराजयले संगठन, नेतृत्व र पार्टी प्रभावित भएको छ । पार्टीमा अहिलेको अवस्था आउनुमा सभापति थापा दोषी रहेको संस्थापनइतर समूहका नेताहरूको आरोप छ । निवर्तमान सभापति शेरबहादुर देउवापक्षीय नेता मीन विश्वकर्मा भन्छन्, ‘गगन थापाको नीति, कार्यशैली र महत्त्वाकांक्षाका कारण पार्टी अहिलेको अवस्थामा पुग्यो ।’इतर समूहका नेताहरू निर्वाचन परिणामले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेकाले अब पार्टी नियमित महाधिवेशनमा जानुपर्ने पनि बताइरहेका छन् ।

‘विशेष महाधिवेशनको सबै औचित्य समाप्त भइसक्यो,’ निवर्तमान केन्द्रीय सदस्य गुरू बरालले भने, ‘अब जाने भनेको १५औं महाधिवेशनमा हो ।’ अर्का नेता रामहरि खतिवडा विगतका कमी–कमजोरीको समीक्षा गर्दै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँछन् । पुराना नेताहरूलाई सम्मान गरौं, नयाँ साथीहरूलाई पनि आकर्षित गरौं । यो वातावरणमा जानुपर्छ ।’

निर्वाचन परिणाम सुखद् नआएपछि संस्थापन र इतर समूहका नेताहरू नियमित महाधिवेशनमा जानुपर्ने अभिव्यक्ति दिइरहेका छन् । तर, नियमित महाधिवेशनमा जाने विषयमा दुवै पक्षका नेताहरूको आ-आफ्नै तर्क छ । संस्थापन पक्षीय नेताहरू विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले नै १५औं महाधिवेशन गर्ने पक्षमा देखिन्छन् । तर, संस्थापन इतर पक्षीय नेताहरू १४औं महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले महाधिवेशन गर्ने बताइरहेका छन् । ‘आधिकारिताको विषय अदालतमा विचाराधीन छ । हामीलाई के विश्वास छ भने, अदालतले पुरानै ठाउँमा फर्काउँछ,’ इतर पक्षीय निवर्तमान एक पदाधिकारीले भने, ‘हामी १५औं महाधिवेशनको तयारी गर्छौं । हाम्रो विश्वास यही छ ।’ निवर्तमान केन्द्रीय सदस्य गुरू बरालले पनि शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै १५औं महाधिवेशन गर्ने जिकिर गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्