Artharajniti ~ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान प्रतिकूल अवस्थाबाट देशलाई जोगाएर अगाडि लैजाने सामर्थ्य कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ। बुधबार सर्लाहीको हरिवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेस जत्तिको परिपक्वता र समन्वय गर्न सक्ने तागत अन्य दलसँग नरहेको जिकिर गर्नुभयो। “अहिलेको चुनौतीपूर्ण समयमा देश सम्हाल्ने कर्तव्य कांग्रेसकै हो र त्यो सामर्थ्य कांग्रेससँग मात्रै छ भन्ने हामीले राम्रोसँग बुझेका छौँ,” उहाँले भन्नुभयो। सुधारिएको कांग्रेसले फागुन २१ को निर्वाचनपछि कसैलाई गाली नगरी र सबैलाई विश्वासमा लिएर देश सम्हाल्ने उहाँको दाबी छ। उहाँले यसपटक कसैले नयाँ पार्टीलाई मतदान गर्छु भन्यो भने त्यो ‘सुधारिएको कांग्रेस’ नै हुनुपर्ने बताउनुभयो। महाधिवेशनपछि बेग्लै ऊर्जा र जाँगरका साथ अघि बढेको कांग्रेसमा पुरानो अनुभवदेखि नयाँ पुस्ताको भावना बुझ्ने नेतृत्व रहेको उहाँको भनाइ थियो। उहाँले कांग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा एक–एक अक्षर केलाएर प्रतिज्ञापत्र बनाएको उल्लेख गर्नुभयो। भदौ २३ र २४ गते परिवर्तन र बेथितिविरुद्ध उत्रँदा ज्यान गुमाएकाहरूको भावना र माग अनुसार सुधारिएर अघि बढेको पार्टी कांग्रेस मात्र रहेको शर्माले दाबी गर्नुभयो। देशमा शान्ति र संविधान स्थापनादेखि नै सुधारका थुप्रै पहल गरेको कांग्रेसप्रति गर्व गर्ने वातावरण सिर्जना गरिएको उहाँको धारणा थियो। मतदानको दिन नजिकिएसँगै सर्लाहीमा शीर्ष नेताहरूको दौडधुप बढेको छ।
” देश सम्हाल्ने सामर्थ्य कांग्रेससँग मात्रै छ ” : उपसभापति शर्मा



