विश्वप्रकाशको प्रश्न : “०६४ मा झैं गल्ती गर्ने कि ०७० जस्तै विवेक पुर्‍याउने ?”

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति दाङले बुधबार घोराहीमा तीन वटै क्षेत्रका उम्मेदवारहरू सहभागी गराएर आयोजना गरेको जिल्लास्तरीय बृहत् भेलामा उनले यस्तो बताएका हुन् । ‘आज नेपाली मतदाताले गम्भीर भएर निर्णय लिनुछ, ०६४ मा झैं गल्ती गर्ने कि ०७० मा झैं विवेक पुर्‍याउने ?,’ प्रश्न गर्दै शर्माले भने, ‘किन कि मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले पुर्‍याउन सक्छ भन्ने हो ।’ उनले पहिलो संविधान सभा निर्वाचनमा कांग्रेस दोस्रो दल बन्दा मुलुकले नयाँ संविधान नपाएको स्मरण गरे । दोस्रो संविधान सभा निर्वाचन २०७० मा कांग्रेस पहिलो दल बन्दा दुई वर्षभित्रै मुलुकले संविधान पाएको शर्माले बताए । ‘०६४ को चुनावमा नेपाली कांग्रेस दोस्रो दल बन्यो, चार वर्ष खेर गयो । तर, देशले नयाँ संविधान पाएन,’ उपसभापति शर्माले भने, ‘संविधान सभाको दोस्रो निर्वाचन २०७० बाट कांग्रेस पहिलो दल बन्यो, दुई वर्षभित्रै देशले संविधान पायो ।’ इतिहासको हरेक मोडमा देशभित्रका भिन्न–भिन्न शक्ति, दल र समुदायको समन्वय गरेर निकास दिने सामर्थ्य प्रस्तुत गरेको कांग्रेसले अब भिन्न पुस्ताको पनि समन्वय गरेर देशलाई अहिलेको अवस्थाबाट नयाँ विश्वासको चरणमा पुर्‍याउने क्षमता राख्ने उनको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्