” सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियो ” : प्रधानमन्त्री कार्की

Machchapuchchre Bank

Artharajniti ~  प्रधानमन्त्री सुशीला कार्कीले सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको बताएकी छन् । मंगलबार एक सन्देश जारी गर्दै कार्कीले यस्तो उल्लेख गरेकी छन् । मंगलबार मुलुकभर आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको छ । सो कार्यमा उत्साहपूर्ण सहभागीता देखिएको भन्दै कार्कीले यस्तो जनाएकी हुन् ।

“आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि आज हामीले अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गर्न सफल भएका छौँ । निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा म हार्दिक आभार व्यक्त गर्दछु । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरूलाई पुनः स्मरण गराउँछु । सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन । हाम्रा सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन् । १६५ पदका लागि ३,४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण हो । नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको छ ।

निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको छ । अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ । सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ ।निर्वाचन कार्यतालिकाबमोजिम अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा निर्वाचन आयोगलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु ।  साथै, यो लोकतान्त्रिक अभ्यासलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गर्दछु । अन्त्यमा, दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस निर्वाचनमा सक्रिय र संयमसाथ सहभागी हुन हार्दिक अपिल गर्दछु ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्